• २०८१ मङ्सिर २३ गते आइतवार

व्यवहारमा परिवर्तन कहिले आउला ?

पढ्न लाग्ने समय : २ मिनेट

खिमराज गिरी

भनिन्छ नि ‘गैडाको छाला कहिल्यै फाट्दैन, अनि कोहि कुनै चिज देखेर गोही कहिल्यै भाग्दैन‘ प्रसंग नेपालका साँगुरा र भत्किएका सडकमा मिनिवस, वस र ट्रक चलाउने चालक र सह चालकको ।

हिजो मात्र काठमाण्डौ बाइपासबाट तारकेश्वर नगरपालिका सम्मको गन्तव्यतिर मोटरसाइकलमा थिंए, नेपाल आर्मीको व्यारेक अगाडि पुग्दा एउटा बसले मलाई उछिनेर जाने क्रममा मेरो मोटरसाइकलको लुकिंग ग्लास नै टुट्न गयो र उक्त गाडीले एकदम पेलेर ल्याउँदा म मुश्किलले ठूलो दुर्घटनाबाट जोगिन सफल भएँ र मोटरसाइकलबाट त्यो गाडीलाई पछ्याइरहे र अगाडिको मोडमा पुगेपछि मोटरसाइकल गाडीको अगाडि लगेर तेस्र्याएपछि वल्ल त्यो वीस वाइस वर्षको चालक र सोह्र सत्र वर्षको सह चालक गाडीबाट तल झरे ।

केहि कुराकानी गर्ने क्रममा गाडीको सहचालकले नानाथरीका अपशब्दहरु प्रयोग गर्न थाले । ती दुई जना युवाहरुमा चालकको एस.एल.सि.पास पनि रहेछ, तर जो चोर उसैको ठूलो स्वर भनेजस्तो केहि समयको कुराकानी पश्चात् चालकले आफ्नो गल्ती त स्वीकार गरे तर सह चालकले अझैपनि धम्कीको भाषा प्रयोग गरी ‘तैले के गर्न सक्छस् गर, हामी भनेका यो बाटोका डन हौं, यो बाटो त मोटरसाइकल, साइकल चलाउने र पैदल यात्रुहरुको हैन‘ भन्ने जस्ता आदि इत्यादि शब्द वाणहरुको प्रहार गुञ्जियो र पछि धेरै मानिसहरुको प्रयासपछि उनीहरु माफि मागेर आफ्नो बाटो लागे ।

यो त उदाहरण मात्र हो , हाम्रो समाजमा वर्षेनी कमसेकम कयौं युवाहरुको जमात विद्यालयको पढाई सकेर कलेजको पढाइतिर अगाडि बढेका हुन्छन् अनि हाम्रो पारिवारिक संस्कारले पनि केहि कुराहरु त पक्कै पनि सिकाएको हुन्छ तर खोई हाम्रो समाजमा नैतिकता र इमान्दारीताको धरातलमा उभिएका मानिसहरु ? कता गयो १० वर्षसम्म घोक्रो फुलाएर पढाएको शिक्षकको प्रयास ? अनि जति पढेपनि वस र ट्रकको स्टेरिंङ्ग समाउनासाथ राक्षसको नक्षत्रले छोइहाल्ने किन होला यी हाम्रो समाजका युवाहरुलाई ?

घटना त्यतिमा मात्र सीमित होइन कि दैनिक कयौं कामले हिड्दा होस या अन्यत्र कतै जाँदा होस् यिनीहरुले महिला, वालवालीका, वृद्धवृद्धा जो सुकैसँग गर्ने व्यबहार त्यहि नै हो जुन व्यबहार प्रत्यक्ष म सँग गरेका थिए । एक त साँगुरा र वर्षा यामका हिलाम्मे सडकहरु अनि मिनि वस र बस ड्राइभरले याात्रु वटुल्ने होडवाजीले लामो दुरीमा चलाए जस्तो गाडी चलाउने प्रवृत्ति र यो चरम लापरवाही अनि सम्बन्धित सबै ठाउँहरुमा ट्राफिकको कमी हुनु आदि कारणले गर्दा के काठमाण्डौका सडक गल्लीहरुमा हिड्न सुरक्षित छ त ?

यो एउटा गम्भिर सोचनिय विषय भएको छ र यी चालक र सह चालकहरुका व्यवहारमा परिवर्तन कहिले आउला ? यो मेरो मात्र नभईकन हाम्रो समाजका प्राय व्यक्तिहरुको जिज्ञासाको विषय बनेको छ !

मध्य नेपाल नगरपालिका २, लमजुङ्ग
हाल काठमाण्डौ ।
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस