श्रावण ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्धारा सिन्धुपाल्चोकमा गएको सुख्खा पहिरोमा परि ज्यान गुमाउनेहरु प्रति समवेदना प्रदान गर्नुभएको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै समवेदना प्रदान गर्नु भएको हो ।
शुक्रबार विहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पहिरोमा पुरिँदा ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएका थिए ।
समवेदना विज्ञप्तीमा लेखिएको छ
अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ । उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।
उक्त घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु । पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गर्दछु ।
३०, श्रावण २०७७
………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)