जेठ ३२, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्षको अन्त्य तर्फ आइपुग्दा सेवाग्राहिको चाप तथा आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम, बजेट योजना तथा कार्यक्रम तयार पार्नका लागि पनि कार्यालय सञ्चालन समय थप गरिएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । विहान ८ बजे देखि वेलुका ६ बजेसम्म सवै कर्मचारीहरु आ–आफ्नो शाखामा रहनका लागि प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले कर्मचारीहरुलाई निर्देशन समेत गर्नुभएको छ भने उक्त निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरुले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । सेवाग्राहीहरुमा जारी सूचनामा हस्ताक्षर गर्दै प्रमुख प्रशासकीय अधिकृत पार्धेले एक सूचना जारी गर्नु भएको छ ।
सूचनामा भनिएको छ : मिति २०७७-२-३२ गते गाउँपालिका अध्यक्षज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँगको छलफल पश्चात आर्थिक वर्षको अन्त्य र सेवाग्राहीहरुको चापको समेत मध्येनजर गर्दै यहि मिति २०७७-०३-०१ देखि लागुहुने गरि सार्वजनिक विदा वाहेक अन्य दिनहरुमा सामाजिक र भौतिक दुरी कायम गर्दै गाउँपालिका विहान ८ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कुरा सवैमा जानकारी गराउदछौँ सूचनामा भनिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।