• २०८१ साउन १ गते मङ्गलवार

राप्ती गाउँपालिकामा भारतबाट आएका ३० जना क्वारेन्टानमा भर्ना

ओमप्रकाश गुप्ता/बिदुर एमसी पढ्न लाग्ने समय : २ मिनेट
वैशाख ३१, दाङ । भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा आएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म आएका ६ जनालाई गाउँपालिकाले एम्बुलेन्स मार्फत ल्याएर भर्ना गरेको छ ।
जसमा राप्ती गाउँपालिका वडा नम्बर ६ को ३ जना, वडा नम्बर ९ को २ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को १ जनालाई सामान्य स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ भने आदर्श नमुना मावि लालमटियाको क्वारेन्टाइनमा भारतको पनेढीबाट साइकल यात्रा गरि कृष्णनगर नाकाबाट राप्ती गाउँपालिकामा आएका २४ जनालाई भर्ना गरिएको छ । जसमा वडा नम्बर ९ का १५ जना,वडा नम्बर ५ का १ जना,वडा नम्बर ३ का १ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का ७ जनालाई भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
विभिन्न ठाउँबाट घुलमिल हुँदै राप्ती गाउँपालिकामा आइपुगेका उनीहरू सवैलाई सामान्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको हो । भर्ना भएका सवै १९ देखि ६२ वर्ष उमेरका पुरूष हुन् । उनीहरूको बुधबार नै पिसिआरका लागि स्वाप संकलन गरिने स्वास्थ्य शाखा प्रमुख राउतले बताएका छन् । स्वाप संकलन गरेको २/३ दिन भित्र नेगेटिभ रिपोर्ट आए सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस