• २०८१ असार ९ गते शनिवार

युवाहरुका लागि सहकारीःव्यक्तित्व विकासको अवसर

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

श्रावण २८ , काठमाण्डौं । राजा महेन्द्र प्रेरित राज्य नियन्त्रित अर्थव्यवस्थालाई लामो समयसम्म अभ्यास गरेको नेपालले २०४६ सालको राजनीतिक परिवर्तन पछि गठन भएको निर्वाचित सरकारले आर्थिक उदारीकरणलाई अंगाल्दै मिश्रित्र अर्थब्यवस्थालाई अवलम्बन गरेको थियो । मिश्रित अर्थब्यवस्थामा निजी क्षेत्रलाई सम्मानजनक स्थान प्रदान गर्दै धेरै क्षेत्रमा लगानी गर्ने सुविधा सहुलियत प्रदान गरियो।

निजी क्षेत्रको मात्र भर पर्दा देशमा एकाधिकारको अवस्था सिर्जना भई सर्वसाधारण माथि चरम शोषणको अवस्था उत्पन्न हुन सक्ने सम्भावनालाई हेक्का राख्दै निजी क्षेत्रसंग प्रतिश्पर्धा गर्ने गरी केही निश्चित ब्यवसायहरु राज्य संयन्त्र मार्फत संचालन गरियो । तर राज्य संयन्त्रको चरम असफलताका कारण विभिन्न संस्थान, निगम, प्राधिकरण जस्ता सरकारी ब्यवसायहरु मध्ये नेपाल टेलिकम जस्ता केही सिमित ब्यवसाय बाहेक अन्य ब्यवसाय संचालन गर्न सरकारी संयन्त्र असफल भईसकेपछि विकल्पको रुपमा सहकारी क्षेत्रलाई लिएको देखिन्छ।

यसले सहकारी क्षेत्रको गरिमा र महत्वलाई बृद्धि गर्नका साथै देश विकासमा सहकारी क्षेत्रले दिएको योगदानलाई पनि स्मरण गरेको महसुस हुन्छ ।राज्यले सहकारी मार्फत सम्पन्न गरिने भनेर निर्धारण गरेका योजनालाई सहकारी मार्फत सम्पन्न गर्न सकिएमा आगामी दिनमा सहकारी क्षेत्रको गरिमा अझ बृद्धि हुन अवश्यम्भावी छ ।

राज्यले सहकारी क्षेत्रको योगदानलाई कदर गर्दै केही कामहरु सहकारी मार्फत गर्ने भनी योजना निर्धारण गरेता पनि सहकारी क्षेत्रको संस्थागत विकास र जनशक्तिको कमीका कारण ति लक्ष्यहरु सजिलै पुरा हुन सक्ने सम्भावना देखिदैनन् । करीव ३५ हजार भन्दा बढी संख्यामा देशभर छरिएर रहेका सहकारीहरु मध्ये सिमित सहरी क्षेत्रमा रहेका सहकारीबाहेक अन्य मोफसल र दुर्गम क्षेत्रमा रहेका सहकारी संग आवश्यक दक्ष जनशक्तिको अभाव रहेको छ।

उत्पत्तिगत रुपले पूर्विय सभ्यताबाट शुरु भएको प्राचिन सहकारिताका विविध रुप हाम्रो समाजमा हालसम्म कायम छन् । हामीले कृषि क्षेत्रमा अवलम्वन गरेका अर्मपर्म, ढिकुर, रोधी, गुठी, भाँजा, कुलाही, जिउँदाको जन्ति मर्दाको मलामी अवधारणाले सहकारिताको प्राचिन रुपलाई बढाइरहेका छन् तर अहिलेको विश्वमा आधुनिक सहकारिताको विकास र बृद्धिका लागि आवश्यक सहकारी शिक्षा र चेतनाको अभाव भएका सदस्यहरु, संस्था संचालनका लागि आधारभूत सीप नभएका संचालकहरु, सहकारी सम्बन्धि कानूनी अस्पष्टता, सहकारी भनेका सरकारी अनुदान प्राप्त गर्ने एक माध्यम मात्र हो भनी परनिर्भर मानसिकता भएका सदस्यहरुबाट सहकारी संस्थाको बृद्धि, विकास सम्भव हुन सक्दैन ।

साक्षरता प्रतिशत न्यून भएको हाम्रो जस्तो देशमा सहकारीका सम्पूर्ण सदस्यहरु शिक्षित, चेतनशील, क्षमतावान् हुन सम्भव छैन र भएका सिमित जनशक्ति पनि नेपालको शिक्षा प्रणाली सैद्धान्तिक मात्र भएको र सहकारी सम्बन्धि शिक्षाको ब्यवस्था निकै पछि मात्र आरम्भ भएकाले सहकारी सम्बन्धि दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । प्रवृत्तिगत रुपले सहकारी क्षेत्रमा लाग्ने भनेको अवकास प्राप्त जनशक्ति र राजनीतिक क्षेत्रमा लागेर सफल हुन नसकेका ब्यक्तिहरु हुनु हाम्रो देशको सहकारी आन्दोलनको अर्को कमजोरी रही आएको छ । यसरी संस्थागत कमजोरीको अवस्थामा सहकारी क्षेत्रको विकास सम्भव हुन सक्दैन।

सहकारी क्षेत्रलाई प्रतिश्पर्धी र आत्मनिर्भर बनाउनका लागि तुलात्मक रुपले शिक्षित युवा वर्गलाई सहकारी क्षेत्रमा आकर्षित गर्न जरुरी छ । युवा वर्गलाई सहकारी क्षेत्रमा आकर्षित गर्न सकेमा उनीहरुले प्राप्त गरेको शिक्षालाई सहकारी आन्दोलनमा प्रयोग गर्न सकिन्छ । जुन शिक्षाको माध्यमले सहकारी क्षेत्रलाई प्रतिश्पर्धी बनाउन सकिन्छ । शिक्षित सहकारी सदस्यहरु मार्फत सहकारी शिक्षा र तालिमलाई प्रत्येक सदस्यको घरघरमा फैलाउन सकिन्छ ।

युवाहरुको संलग्नताले सहकारी क्षेत्रको विकास मात्र नभई सहकारीमा रही काम गर्दा अनुभव प्राप्त गर्न नसकेका कोरा सैद्धान्तिक ज्ञान मात्र प्राप्त गरेका युवाहरुलाई आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गरी ब्यक्तित्व विकास गर्ने अवसर प्राप्त हुन्छ । सही तवरले संचालन गर्न सकेमा सहकारी एक बहुमुखी क्षेत्र हो। सहकारीले ब्यवसाय संचालन गर्न सिकाउँछ । रोजगारीको सिलसिलामा जुन सुकै स्थानमा जाँदा पनि अनुभव नभएका ताजा उम्मेदवारलाई काममा राख्न कुनै पनि संघसंस्था तयार हुँदैनन् । यस्तो समस्या समाधान गर्न पनि सहकारी एउटा महत्वपूर्ण मञ्च हुन सक्दछ । सहकारीले योजना तर्जुमा, योजना छनौट, योजना कार्यान्वयन, योजना अनुगमन, योजना मूल्यांकन, समीक्षा जस्ता सीप सिकाउछ । सहकारीले कसरी बढी भन्दा बढी प्रतिफल प्राप्त गर्नका लागि कस्ता कस्ता रणनीति, दीर्घकालिन योजना, कार्यक्रम संचालन गर्नुपर्छ भन्ने अभ्यास गर्ने अवसर प्रदान गर्दछ । विश्वविद्यालय, महाविद्यालयमा सिकेका ज्ञान र सीपलाई व्यवहारिक कसीमा परीक्षण गर्दै आफ्नै समुदायको फाइदाका लागि काम गर्न सहकारीले युवालाई मञ्च प्रदान गर्दछ। सहकारीले समूहमा काम गर्ने, सामुहिक हितलाई प्रवर्धन गर्ने क्षमताको विकास गराउँछ जसले युवाको सीप, क्षमता, ब्यक्तित्वको विकास गराउँछ ।

यसरी सहकारी युवाहरुको लागि एक सिक्ने, बुझ्ने अवसर पनि हुन्छ । सहकारीमा सिकेका सीप, क्षमतालाई देशका विभिन्न स्थानमा विकास कार्यमा प्रयोग गर्न सकेमा समग्र देश विकासमा सहकारी अनुभव उपयोगी हुन सक्दछ । सहकारी विकासका लागि युवाहरुको संलग्नताले महत्वपूर्ण भूमिका खेल्दछ । युवाहरुको संलग्नताबाट मात्र सरकारले सहकारीमार्फत पुरा गर्ने भनी लिएका लक्ष्य सहज रुपमा पुरा हुन सक्दछ भने बेरोजगारीको बढ्दो समस्या समाधान गर्न युवाहरुको ब्यक्तित्व विकासका लागि सहकारी एक महत्वपूर्ण मञ्च हुन सक्दछ ।

दामोदर पंगेनी,

प्रतिक्रिया दिनुहोस