श्रावण २८ ,भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा एकै परिवारका चारसहित आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरा गरी चारै जनामा कोरोना संक्रमण भएको पाइएको हो ।काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नपा ७ वागेश्वरीका श्रीमान श्रीमती पनि संक्रमित भएका छन् ।
यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुखले जानकारी दिए । यस्तै मध्यपुर थिमि नपा ४ नयाँ ठिमीकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तराईबाट सूर्यविनायक नपा ३ बालकोटस्थित छोराको घरमा आएका ६० वर्षीय बुबामा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो सामान्य लक्षण आएपछि आठैजनाको परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट मंगलबार आउँदा पोजिटिभ आएको जनाइएको छ ।
अहिले आठैजना आआफ्नो घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको छ । स्वस्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ। जसमध्ये ५० जनाले कोरोना जितेर घर फर्किएका छन ।