• २०८१ माघ ८ गते मङ्गलवार

नेपालले नक्सा जारी गरेपछि पहिलो पटक नेपाल-भारतबीच छलफलको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ ,काठमाडौँ । कालापानी,लिम्पियाधुरा र लिपुलेकलगायतको आफ्नो भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि पहिलो पटक नेपाल भारतका प्रतिनिधिबीच छलफल हुने भएको छ ।

नेपालका लागि भारतीय राजदूत वियन मोहन क्‍वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच छलफल हुने भएको हो । उक्त छलफल परराष्ट्र मन्त्रालयमा हुने भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्‌यालले भने, “नेपाल भारतबीचमा भारतको सहयोगमा सञ्‍चालित परियोजनाहरुको प्रगति समीक्षा गर्ने‘ओभर(साइट मेगानिज्‌म’ छ । त्यो दुबै मुलुकको प्रतिनिधिहरु हुनुहुन्छ । त्यो संयन्त्रको छलफल गर्ने भन्‍ने कुराकानी भइरहेको छ । कहिले के हुन्छ भनेर मिति तय भइसकेको छैन ।”

नेपालका लागि भारतीय दूतावास स्रोतले भने अगस्त १७ का लागि तय भएको जनाएको छ । स्रोतका अनुसार अगस्त १७ मा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुँदैछ । बैठकमा भारतको लगानीमा सञ्‍चालनमा रहेका विभिन्‍न परियोजनाको मूल्यांकन र समीक्षा हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने तय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस