असार २८, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाईरसको संक्रण पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा चार जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना र बझाङका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै धनगढी प्रयोगशालामा कैलाली र दार्चुलाका तीन जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय २० पुगेको छ। सुदूरपश्चिम पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ।
शनिबार कञ्चनपुरका तीन जना र शुक्रबार प्रदेशका विभिन्न जिल्लाका पाँचजनामा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ६७ जना उपचार पछि घर फर्किएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा अहिले सम्म साढे २५ हजार बढिको पीसीआर विधीबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ