• २०८१ माघ १ गते मङ्गलवार

असार २९ र ३० गते उद्धार उडान नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौँ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि असार २९ र ३० गते उडान नहुने भएको छ । लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको हो ।

विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्ती २ दिनलाई रोकी विमानस्थल व्यवस्थापन गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । आज बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस