• २०८१ साउन १ गते मङ्गलवार

विश्वबैंकले थप सवा ५४ अर्ब ऋण सहयोग गर्ने

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

जेठ ३०, काठमाडौं । विश्व बैंकले आर्थिक पुनर्बहालीका लागि नेपाललाई करिब ५४ अर्ब २८ करोड रुपैयाँ थप ऋण सहयोग दिने भएको छ । विश्वबैंकले रणनीतिक सडक सुधारका लागि ४५ करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको हो ।

बैंकको बोर्ड बैठकले नेपालको सडक पूर्वाधारको स्तरोन्नतिका लागि यो रकम दिन लागेको हो । बैंकले कोभिड–१९ महामारीपछि मात्रै नेपाललाई १ खर्ब ३० अर्ब दिइसकेको छ । यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।

बिहीबार दिने भनिएको ऋण सहयोग आगामी आर्थिक वर्ष २०७७र७८ का लागि रहेको विश्व बैंकले जनाएको छ । सहायता रकम रणनीति सडक निर्माणमा प्रयोग गरिने बताइएको छ । अन्तरदेशीय व्यापारिक मार्ग निर्माण, व्यापार वृद्धि, थप रोजगारी सिर्जना र सुरक्षित सडक यातायात विकासका लागि खर्च हुने गरी स्वीकृत गरिएको हो ।

बैंकले आफ्नो सहायता प्राथमिकतालाई कोभिड–१९ पछि पुनः प्राथमिकीकरण गरी नयाँ शीर्षकमा सहयोग स्वीकृत गरिरहेको छ । नयाँ शीर्षकमा पुरानै बजेटरी सहयोगलाई पनि कोभिड–१९ पछिका आर्थिक सुधार र पुनर्बहाली भन्दै ऋण सहयोग उपलव्ध गराइरहेको छ ।

थपिएको ऋण सडक क्षेत्र सुधारका लागि र सीमापार व्यापार, बढी रोजगारी तथा उत्तम सडक सुरक्षासहितको कोभिड–१९ पछिको आर्थिक पुनर्बहालीका लागि प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले विश्व बैकसँग सहुलियत ऋण लिएर सडकका दुई परियोजनाअघि बढाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बैंकको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो । दुई महिनाभित्र महाशाखा र बैंकबीच सम्झौता हुने बताइएको छ । सम्झौताका लागि अर्थ मन्त्रालयले ब्याजदर निर्धारण गर्ने र कानुन मन्त्रालयले कानुनी पाटो हेर्ने बताइएको छ ।

नेपालका लागि विश्वबैंकका देशीय निर्देशक फारी हदादजर्भोसले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिमा नागरिकको ज्यान जोगाउनु सँगसँगै आर्थिक सुधारमा पनि जोड दिइनु उत्तिकै आवश्यक रहेको बताए । उनले भने, ‘हाम्रो सहयोगबाट नेपालले सडकलाई सुरक्षित तुल्याउने र मानिस तथा वस्तुको आगमनमा सहजीकरण, रोजगारी सिर्जना तथा स्थानीय उत्पादन र सेवाको माग सिर्जनाबाट नेपालको कोभिड–१९ पछिको पुनबर्हालीका लागि सहयोग पुग्नेछ ।’

सहयोगबाट सञ्चालन हुने रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाअन्तर्गत नागढुंगा–नौबिसे–मुग्लिङ सडकको सुधार तथा कमला–ढल्केवर–पथलैया सडकको स्तरोन्नति गरिनेछ । दुवै सडकखण्ड भारतसँगको सम्पर्क र व्यापारका लागि महत्वपूर्ण भएकाले यो ऋण दिन लागिएको बैंकले जनाएको छ ।

विश्वबैंकले आयोजनाले सीमा नाकाहरूमा व्यापारका सीमिततालाई सुधार गर्न तथा कृषि निर्यातलाई प्रोत्साहन गर्ने गरी पूर्वाधार, सुविधा र सरसफाइका सेवामा सुधार गर्ने पनि बैंकले जनाएको छ । कोभिड–१९ महामारीका बीचमा यो आयोजनाले सीमा क्षेत्रमा वस्तु तथा मानिसको जाँचबुझ प्रक्रियामा सहयोग गर्ने तथा सुरक्षित दूरी, दूरकार्य प्रणालीजस्ता विशिष्ट कार्य व्यवस्थाहरूका लागि मार्गदर्शन विकास गर्नेसमेत बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् र सडक विभागलाई सुदृढीकरण गर्नेछ भने मुलुकका अति व्यस्त हुने सडकहरू तथा रणनीतिक महत्वका सडक सञ्जालको आवधिक मर्मत सम्भारमा पनि सहयोग पु(याउनेछ । यसमा संकटकालीन प्रतिकार्य तथा पुनर्बहालीका लागि परियोजनाका कोषहरूलाई पुनः प्राप्त गरी संकटकालीन प्रतिकार्यमा प्रयोग गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

रकम नागढुंगा–नौबिसे–मुग्लिन सडक र कमला–ढल्केबर–पथलैया सडक विस्तारमा खर्च हुनेछ । मन्त्रिपरिषद्ले उक्त सहायता लिने निर्णय गरेपछि निर्माणको प्रक्रिया अघि बढ्नेछ । सबै प्रक्रिया सकिएपछि ठेक्का आह्वान गरेर काम सुरु गरिने बताइएको छ ।

नागढुंगा–मुग्लिन सडकको डिजाइन तयार पारिसकेको अवस्थामा छ । करिब ९६ किलोमिटरको सडकलाई सुधार गर्न लागिएको हो । काठमाडौंदेखि नागढुंगा र मुग्लिन–नारायणगढ सडक निर्माण भइसकेको छ । बाँकी रहेको सडकको सुधारका लागि यो ऋण लिन लागिएको हो ।

ऋण स्वीकृतपछि हालका पुलको दायाँ–बायाँ थप एक एकवटा पुलसमेत निर्माण गरिनेछ । करिब २० वटा पुलनिर्माण गर्नुपर्ने डिजाइनमा छ । पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैयासडकलाई चार लेनमा स्तरोन्नति गर्न यो ऋण दिन लागिएको हो । यो सडक दुई वर्षमा निर्माण सुरु गर्ने गरी तयारी भइरहको छ । यही ऋणबाट १३० किमि लम्बाइको यो सडकखण्डमा ७६ वटा ठुला पुलहरूसमेत निर्माण गरिनेछ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस