• २०८० असोज ११ गते बिहिवार

कालापानीमा सीमा सुरक्षा पोस्ट स्थापना गरिँदै

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट
वैशाख ३०, दार्चुला । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा सुरक्षा पोस्ट ९बीओपी० स्थापना गर्ने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यास गाउँपालिका–१, छाङ्रुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपी स्थापना गर्न लागेको हो ।बुधबारसम्म कालापानी क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने गरी तयारी भएको सशस्त्र प्रहरी बल ५० नम्बर दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिनुभयो । सीमा सुरक्षा पोस्ट स्थापना गर्न स्थलगत निरीक्षणसमेत भइरहेको उहाँले बताउनुभयो । भारतले सन् १९९९ देखि चीन सीमा जोड्ने उद्देश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन् २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाई भारतले प्राथमिकताका साथ निर्माण गरेको हो ।

भारतले उक्त सडकलाई तीव्रता दिन अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविपरीत दुई वर्षदेखि नेपाली भूमि तम्बाकु, घाटीबगर क्षेत्रमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउँदै आएको थियो । अहिले दार्चुलाको उत्तरी सीमा क्षेत्र मानव बस्तीविहीन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाइ र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दै आइरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा गोकर्ण दयाल र लोकेन्द्र जोशीले तयार पारेका हुन ।

प्रतिक्रिया दिनुहोस