• २०८० चैत्र १६ गते शुक्रवार

कोरोना कोषबाट ३ महिनामै सकियो साढे ४ अर्ब

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २२, काठमाडौँ। कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यो परिमाणमा खर्च गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार यो वर्ष तीनै तहका कोषमा कोरोनासँग जुध्न १३ अर्ब ८२ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिएको छ । जसअनुसार अब ९ अर्ब ३४ करोड रुपैयाँ बाँकी छ । संघीय सरकारले चालु बजेटमार्फत ६ अर्ब रुपैयाँ कोरोना नियन्त्रण तथा उपचारका लागि विनियोजन गरेको छ। समीक्षा अवधिमा सबैभन्दा कम ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ। संघमा अब ५ अर्ब ३० करोड रुपैयाँ बाँकी छ। यसबाहेक कोरोना कोषमा १ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

कोषमार्फत १ अर्ब ३८ करोड रुपैयाँ परिचालन भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले कोषमा ३८ करोड ७० लाख रुपैयाँ मात्रै बाँकी रहेको जानकारी दिए ।

सात प्रदेशमध्ये ६ वटाले १ अर्ब २५ करोड रुपैयाँ खर्च गरेका छन् । सुदूरपश्चिम प्रदेशले भने कोरोनासँग जुध्न खर्च गरेको छैन । उसले १ करोड ३५ लाख रुपैयाँ मात्रै स्रोत जुटाएको थियो । सात प्रदेशको १ अर्ब ७६ करोड रुपैयाँमध्ये १ अर्ब २५ करोड खर्च भएको तथ्यांकले देखाएको छ । अब प्रदेशसँग खर्च गर्न पुग्ने ५० करोड ८१ लाख रुपैयाँ मात्रै छ ।

स्थानीय तहको बजेट प्रणालीबाट ४ अर्ब २९ करोड रुपैयाँ स्रोत जुटेको थियो । तर, अहिलेसम्म स्थानीय तहले १ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन्। स्थानीय तहसँग ३ अर्ब १४ करोड रुपैयाँ बाँकी छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस