• २०८१ जेष्ठ ७ गते सोमवार

थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कुल संक्रमित संख्या १६ हजार ७१९

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् । यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको छ ।

कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् । असार २६ गते मृत्यु भएका काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएकोमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका मृगौलाका बिरामी पुरुषको असार २५ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । असार १९ गते अस्पताल भर्ना भएका उनको असार २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षका क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका पुरुषको पनि २५ गते नै निधन भएको छ । उनी असार १८ गते अस्पताल भर्ना भएकोमा असार २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस