युवा भन्ने बित्तिकै मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि युवाहरुलाई परिवर्तनका संवाहक मानिन्छ । यहि बिचमा युवा कसरी राजनीतिमा आउने भन्ने बारमा केही कुरा गरौं । राजनीति एउट्त युद्धभूमि जस्तै हो । राजनीतिमा आउन चाहने, देशको लागि केही गर्छु भन्नेसँग आफ्नो जीवन त्यसमै समर्पण गर्नसक्ने आँट हुनुपर्छ । त्यो आँट एक युवामा हुन जरुरी छ र रहन्छ पनि त्यसको लागि आफ्नो जीवन नै आहुति दिनु किन नपरोस् । हारिन्छ भनेर युद्ध कसैले गर्दैन । जित्नैका लागि युद्ध गरिन्छ । त्यसैले जित्नको लागि आफू पूर्णरूपले तयार हुनुपर्छ । युद्धमा विभिन्न अस्त्र प्रयोग गरिन्छ । त्यसका लागि पनि पूर्वतयारी चाहिन्छ । राजनीतिमा आउन चाहने सबैले पूर्वतयारी गर्नै पर्छ । नत्र, आफ्नो जीवन त खेर जान्छ जान्छ देश, जनता, समाज र राष्ट्रका लागि देखिएका सुनौलो भविष्यका सपना पनि तुहिन पुग्छन् ।
राजनीतिकरूपले देशलाई बाटो देखाउने विचार र सिद्धान्त बीपी, पुष्पलालले नेपाल र नेपालीलाई दिएर गएका हुन् । मदन भण्डारीले जनताको वहुदलीय जनवाद प्रतिपादन गरेका हुन् । यी नेताले हामीलाई छाडेर गएका सिद्धान्तलाई भित्रैदेखि बुझ्न जरुरी छ ।
विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदैआएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा रहँदैआएको छ । राणा शासन अन्त्य गर्दा होस् या २०४६ र २०६३ सालको जनआन्दोलनमा युवाको महत्वपूर्ण सहभागिता थियो । २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ । हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत द्रूत गतिमा आर्थिक र सामाजिक विकासतिर लम्किदाँ हामी भने कछुवा गतिमा पनि हिँड्न सकेका छैनौ । २००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो वर्तमान पनि उत्तिकै निसासिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेत देखापरेका छन् । विगतमा हामीले उठाएका मुद्दा, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी हामी युवाको काँधमा आएको छ ।
सूचना सञ्चार प्रविधिमा दक्षता
अहिलेको जमाना इन्टरनेटको हो । सूचना प्रविधिको जमाना हो । राजनीति पनि त यसबाट मुक्त हुन सक्दैन । त्यसैले सूचना प्रविधिको शतप्रतिशत उपयोग गर्नलाई सूचना प्रविधि मैत्री हुनै पर्छ ।
यसका साथै, समूहमा काम गर्ने क्षमता र सामाजिक दक्षता, कोसँग कसरी व्यवहार गर्ने भन्ने ज्ञान पनि हासिल गर्नैपर्छ । यीबाहेक, आफ्नो परिवारसँग छलफल गर्नुपर्छ । राजनीतिमा परिवारको साथ भएन भने घरको न घाटको हुने अवस्था आउन सक्छ । त्यसैले परिवारको सहमतिमा युवा राजनीतिमा आउन सक्नुपर्छ । परिवारले मान्दै नमानी राजनीतिमा होमिनु हुँदैन । आफ्नो परिवारलाई प्रभावित गर्न नसक्नेले कसरी देशका करोडौं जनतालाई प्रभावित गर्न सक्ला र ?
त्यसैगरी धैर्य, साहस र लगनशीलता चाहिन्छ । आज नेतृत्व गर्ने मनोकांक्षा बोकेका युवाले यी सबै विषय ध्यानमा राखेर क्षमता र दक्षता हासिल गर्दै लैजाने हो भने पक्कै पनि हामीले खोजेको जस्तो नेतृत्व पाउन सक्छौँ । अबको पुस्ता पनि तयारी नगरी राजनीतिमा आयो भने ठूलो मूल्य चुकाउनु पर्नेछ । अब जनता बुझ्ने भइसकेका छन् ।
युवाशक्तिले बगाउने रगत, पसिना विदेशी भूमि होइन आफ्नै जन्मभूमिको माटो सिंचित गर्ने वातावरण बनाउनुपर्छ
पुराना राजनीतिक शक्तिको गढ मानिएको क्षेत्रमा नयाँ अनुहार अगाडि आइरहेका छन् । क्षमता भएको व्यक्तिलाई जनताले हार्न दिँदैनन् । अबको पुस्ताले क्षमता हेरेर जनप्रतिनिधि चुन्छन् र क्षमतावान् प्रतिनिधिले देशको मुहार फेर्न सक्छन् । त्यसैले विचार गरेर धैर्यपूर्वक एक पटक सोचौँ ( के राजनीति मेरा लागि हो ? के म देशको भार उठाउने गहन जिम्मेवारी बहन गर्न सक्छु ? आफ्नो उत्तर सकारात्मक भएमात्र राजनीतिमा सक्रिय होऊँ १
राजनीतिकरूपले देशलाई बाटो देखाउने विचार र सिद्धान्त बीपी, पुष्पलालले नेपाल र नेपालीलाई दिएर गएका हुन् । मदन भण्डारीले जनताको वहुदलीय जनवाद प्रतिपादन गरेका हुन् । यी नेताले हामीलाई छाडेर गएका सिद्धान्तलाई भित्रैदेखि बुझ्न जरुरी छ ।
युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ । लोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना र संस्कार अपरिहार्य हुन्छ । यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको सिकार भइराखेका छन । यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको छ । यसैले पनि हो वर्षेनि लाखौ युवाको विदेश पलायन हुने गरेको छ्। राज्यले देशमा विभिन्न रोजगारीका अवसर सिर्जना गरेर युवा शक्तिलाई उपयोग गर्ने नीति बनाउनुपर्छ ।
विकास निर्माणका कार्यलाई सुचारु गरेर युवाशक्ति पलायन हुनबाट रोक्न सक्ने योजना ल्याउनुपर्छ । युवाशक्तिले बगाउने रगत, पसिना विदेशी भूमि होइन आफ्नै जन्मभूमिको माटो सिंचित गर्ने वातावरण बनाउनुपर्छ । फेरि फेरि यो अबस्था नदोहोर्याउन भए पनि युवा एकजुट हुन जरुरी छ ।