• २०८० चैत्र ३० गते शुक्रवार

‘क्रसर डन’को विरोध गर्दा टिपरले पेलेर ज्यान लिएपछि..

पढ्न लाग्ने समय : ४ मिनेट

रोशनकै आँखा अगाडि तस्करको कुटपिटबाट दिलीप बेहोस भएर खोलामै ढलेका थिए। मिथिला नगरपालिका–५ का वडाध्यक्ष यादव दिलीपलाई सहयोग गर्न खोलातिर लागेका थिए। बीच बाटोमा पुग्दा रोशनले फोनमा गरेको कुराकानी उद्धृत गर्दै वडाध्यक्ष यादवले भने, ‘छिट्टो खोलामा आउनुस्, दिलीपलाई मारिसक्यो।’ त्यसपछि आफू हतारहतार खोलामा पुगेको उनले सुनाए। ‘म पुग्दा चालकले टिपर भगाएर क्रसरमा लगिसकेको थियो’, उनले भने।

घटनास्थल पुग्दा दिलीपलाई टिपरले किचेर मारिसकेको देखेर वडाध्यक्ष र रोशन भावुक बनेका थिए। वडाध्यक्षले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिए।

‘दुईपटक फोन गर्दा बल्ल प्रहरी टोली घटनास्थलमा आयो। मसँग भएको गम्छा मागेर शव छोप्यो’, उनले भने, ‘त्यसपछि प्रहरीले एम्बुलेन्स बोलाएर घटनास्थलको मुचुल्कै नगरी शव उठाएर पोस्टमार्टमका लागि अस्पताल लग्यो।’

श्रीपुरका वीरेन्द्र यादवको जग्गा भाडामा लिएर औरही खोलाको पश्चिमतर्फ स्थानीय विनोद र विपिन महतोले संयुक्त रूपमा चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालन गरेका छन्। क्रसर उद्योगीले अवैध रूपमा खोलाबाट गर्दै आएको नदीजन्य सामग्री उत्खननको विरोध स्थानीयले गर्दै आएका थिए।

दिलीपले खोलामै पुगेर उत्खनन नगर्न आग्रह गरेपछि उनका बुवा रामजीवन महतोलाई क्रसर सञ्चालक विपिन महतोले आफ्नो काममा दुःख दिए ज्यान जाने धम्की दिएका थिए। धम्कीको वास्ता नगरी दिलीपले गैरकानुनी कार्यको विरोध गर्दै आएका थिए।

‘तपाईंको छोरोलाई सम्झाउनुस्, हाम्रो क्रसर सञ्चालनमा दुःख दिइरहेको छ। धेरै जान्ने भएको छ, होस गर्न भन्नू नत्र एक दिन ज्यान जान्छ’, विपिनले दिएको धम्की उद्धृत गर्दै रामजीवनले भने, ‘म सुतेको थिएँ, शुक्रबार बिहानै खोला खनिरहेको उसले थाहा पाएछ। साथी लिएर रोक्न जाँदा ज्यानै मारिदियो।’

स्थानीय सरकार, प्रहरी प्रशासन मिलेर नदी दोहन गरिरहेको स्थानीय बद्रविक्रम बानियाँले बताए। ‘स्थानीय जनताले प्रतिकार गर्दा मर्नुपर्ने अवस्था उत्पन्न भएको छ’, उनले भने, ‘गुन्डागर्दीविरुद्ध जनता ओर्लिन बाध्य भएको छ।’

स्थानीय किसान अरुण महतोका अनुसार स्थानीय सरकार छ, प्रहरी–प्रशासन छ। तर, क्रसरवाला डनको अगाडि उनीहरू निरीह छन्। ‘जथाभावी खोला उत्खन्न गर्दा बाढीले बाली लगाएको खेत बगाइन्छ। गैरकानुनी रूपमा क्रसरवालाले खोला खन्दा प्रशासनलाई फोन गर्छौं। प्रशासनले सुनुवाइ गर्दैन’, उनले भने, ‘क्रसरवालालाई भन्दा भन्छ, उल्टै धम्की दिन्छ, चलाउँछु सरकारले आदेश दिएको छ। रोक्न आउँदा मारिदिन्छ।’

दिलीप भारतको भोपालमा बीटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिएँ। छुट्टीमा घर आएका थिए। गाउँनजिकै खोलामा भइरहेको उत्खननको दुई वर्षयता विरोध गरिरहेका थिए। नदीमा गरिने उत्खननले खेतीयोग्य जग्गा बाढीले बगाउने र किसानको मुखको गाँस खोसिने भएका कारण क्रसर सञ्चालक र खोला ठेकेदारको गलत कामको विरोध उनले गर्दै आएका थिए। २४ वर्षीय दिलीपको ज्यान गएपछि श्रीपुर गाउँमा शोक छाएको छ।

बालुवा, गिट्टी लोड गरिएको ना.७ख ६४१३ नम्बरको टिपरले किचेर उनी मारिएको इलाका प्रहरी ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले बताए। ‘घटनास्थल हेर्दा गाडी दुर्घटना भएको देखिन्छ। तर, त्यो स्थानमा त्यसरी दुर्घटना हुने अवस्था देखिँदैन’, उनले भने, ‘घटनाको भित्री रहस्य छ। उनलाई टिपरले किचेर षड्यन्त्रपूर्वक मारिएको छ।’ घटनास्थलमा भेटिएका मोबाइलसहित सबुतप्रमाण प्रहरीले संकलन गरेको छ। वैज्ञानिक पद्धति अपनाएर अनुसन्धान थालिएको उनले बताए।

घटनास्थलबाट प्रहरीले मुचुल्का नगरी शव उठाएको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग तीन घण्टा अवरुद्ध पारेका थिए। राजमार्ग खुलाउन प्रहरीले लाठीचार्ज गर्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रहरीले एक दर्जन सेल अ श्रुग्यास प्रहार गरेको थियो।

टिपर चालक महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिथिलाका मेयर हरिनारायण महतोले खोला खन्न कसैलाई अनुमति नरहेको बताए। ‘खोलाबाट बालुवागिट्टी झिक्न ठेक्का भएको छ तर खन्न कसैलाई स्वीकृति दिएका छैनौं। कसले कसरी खन्यो थाहा भएन’, मेयर महतोले भने, ‘ अनुमति दिएको भए दिउँसो खोला खन्थ्यो। तस्करले रातिको समयमा मौका छोपेर गैरकानुनी रूपमा खोला खनिएको हो।’ खोला खनिरहेको सूचना कसैले नदिएको उनले सुनाए। ‘दिलीपको हत्या दुर्भाग्यपूर्ण छ। प्रहरीले तथ्यसत्य रूपमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भने।  यो समाचार आजको अन्नपुर्ण पोष्टका लागि राजकरण महतोले तयार पार्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस