मंसिर २५, कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से१प ५५७८ र से ६ प ३७११ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका एकजनाको बुधबार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार घटनामा से १प ५५७८ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहोराको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका सोही मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१७ का रमेश बोहोराको कोहलपुर मेडिकल कजेजमै उपचार भइरहेको छ। अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१५ का हुकुमसिंह खत्री र पछाडी सवार लिलु चौधरीको पनि घाइते भएका छन्। उनीहरूको धनगढीमा उपचार भइरहेको छ।