• २०८१ कार्तिक २३ गते शुक्रवार

कानुनी छिद्रबाट फुत्कन खोज्ने ‘वन्यजन्तु तस्कर’ कुन्जोकको प्रयास असफल

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २५, काठमाडौं । वन्यजन्तुको तस्करीमा संलग्न कुन्जोक छिरिङ तामाङको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोेच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले सो रिट खारेज गरेको हो ।

१५ वर्षअघि ठूलो परिमाणमा पाटेबाघ र चितुवाको छालासहित रसुवाको स्याप्रुबाट पाँच जना पक्राउ परे पनि कुन्जोक फरार भएका थिए । उनलाई गत ११ असारमा सीआईबीले पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यसपछि कुन्जोकले कानुनी छिद्रबाट उम्कन उच्च अदालत पाटन र सर्वोच्च अदालतको सहारा लिएका थिए । बन्दी प्रत्यक्षीकरण रिटबाटै छुट्ने र उम्कने प्रयासस्वरूप पाँच महिनादेखिको उनको योजना सर्वोच्चले रिट खारेज गरेसँगै असफल भएको छ ।

२ कात्तिकमा सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा ३ कात्तिकमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गर्दै फाइल मगाउने आदेश गरेको थियो । त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो भने विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, कुन्जोक आफैंले दुई वटा पेसीमा सुनुवाइ स्थगित गराए । तेस्रो पटक तोकिएको पेसीमा भने सुुनवाइ भएसँगै कुन्जोकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको हो ।

रसुवा जिल्ला अदालतको आदेशले थुनामा रहेका तामाङले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनको निवेदनमा उच्च अदालतले सक्कल कागज मगाउने आदेश दिएको थियो । उच्च अदालतले तोकेको पेसीमा पनि कुन्जोकले दुई पटक स्थगित गराएका थिए । उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा तामाङले कोभिड–१९ को कारण देखाएर सर्वोच्चमा आफू कुन्जोक लामा भन्ने व्यक्ति नभएको जिकिर गर्दै छुटकारा पाउन माग गर्दैै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । तामाङ सो घटनाका मुख्य अभियुक्त हुन् । मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए ।

रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो । वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए । तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगैै मुद्दा चलेपछि फरारको सूचीमा छन् । वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

यसअघि निकुञ्जले जिल्ला अदालत रसुवामा बुझाएपश्चात् १४ असारमा प्राप्त मिसिल अध्ययन गरेर निर्दोष मान्न सकिने आधार नभएको भन्दै थुनामा पठाएपछि उनले थुनामुक्त हुनुपर्ने माग गर्दै २८ असारमा उच्च अदालतमा निवेदन दिएका हुन् । उनको निवेदनमा सुनुवाइ गर्दै ३० असारमा पाटन उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईले तामाङलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका थिए । उच्च अदालतबाट उनले दुई पटक मुद्दा स्थगित गरेका छन् । अब उनले अन्तिम विकल्पका रूपमा उच्च अदालतमा विचाराधीन रहेको बन्दी प्रत्यक्षीकरण रिटबाट उम्कन प्रयास गर्नेछन् । उच्च अदालतमा कोभिड–१९ का कारण नियमित सुनुवाइ प्रभावित भएपछि सर्वोच्चको सहारामा छुट्ने कोसिस गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तुको तस्करको गतिविधिमा संलग्न कुन्जोकको नाम भारतमा हुने ठूलो अपराधमा पनि जोडिएको छ । भारतको मध्यप्रदेशको सुहागपुर जिल्ला अदातले तस्करीहरूको नाममा पक्राउ गर्न आदेश जारी गरेपछि कुन्जोक त्यहाँबाट भागेर नेपाल आएको देखिएको छ । सीआईबीले भारतीय प्रहरीबाट प्राप्त कागजपत्र उच्च अदालत पाटनमा बुझाइसकेको छ । कुन्जोकले भने आफू कुन्जोक लामा भन्ने व्यक्ति नभएको दाबी गर्दै आएका छन् । तर, प्रहरीले भने कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्ने व्यक्ति एकै व्यक्ति हुन् भन्ने प्रमाण अदालतमा पेस गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस