जेठ २८, पर्सा । वीरगंज महानगरपालिका-२७ रामपुर टोलबाट ना.४ च ८५९९ नम्बरको अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमराको एम्बुलेन्समा अवैध लागूऔषध गाँजा ५६ केजी फेला पारी चालक सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २३ वर्षीय जित बहादुर वाईवा, सोही ठाउँ बस्ने २२ वर्षीय दिल बहादुर वाईवा र पर्सा बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नहरको बाटोमा उक्त एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।