वैशाख २८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली दुई संगठनद्वारा छिमेकी मुलुक विस्तारवादको निम्ती कहिल्यौ नझुक्ने साथै जस्तोसुकै परिस्थितीको सामाना गरी मुलुकको सीमा रक्षा गर्ने उल्लेख गर्दै नेपाल सरकारसँग तीन वटा महत्वपूर्ण मागहरु प्रस्तुत गरेका छन् । आज विद्यार्थी संगठन अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझउँदै उक्त कुरामा दृढता व्यक्त गरेका छन् ।
अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्चित तामाङ, युवा संघका संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेलसहितको संयुक्त हस्ताक्षरिव ज्ञापनपत्र बुझाउँदै युवा विद्यार्थीले मुलुकको सीमा रक्षाको निम्ती पार्टी तथा सरकारको निर्देशन अनुसार कदम चलाउन पछि नपर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले सरकारले पटक पटक कुटनैतिक रुपमा समस्या समाधान गर्ने प्रयास गरे पनि भारत सरकारले यो वा त्यो वहानामा टारिरहेको बताउँदै नेपाल भारत उच्चस्तरिय छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रकृया अधि बढेको जानकारी गराउनुभयो । मुलुकको सीमा रक्षाको निम्ती सरकारले अब निर्णयक चरणमा अघि बढ्ने बताउँदै नेपाली भूमि कुनै पनि हालतमा नछोड्ने अठोत व्यक्त गर्नुभयो ।
भारतलाई नेपाली भूमि मिचेर सडक निर्माण नगर्न लिखित पत्राचार गरेपनि एकैपटक सडक उद्घाटनाको खबर आउनु दुःखद भएको बताउँदै मन्त्री ज्ञवालीले नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको बताउनुभयो । सन १९१८ मा भएको सुगौली सन्धिले नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरेको उल्लेख गर्दै त्यसपछि नेपाल र भारतबीचको सीमा हेरफेर हुने गरी कुनै पनि सन्धि नभएको जानकारी गराउँदै विगतमा भएका सन्धीलाई अक्षरस पालना गरि भारत सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कालीको मुहानलाई आधार मानेर सीमा निर्धारण भएको स्मरण गराउँदै त्यही आधारमा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक प्रष्टरुपमा नेपालको भएको उल्लेख गर्दै भारतलाई हिजो मात्र नेपाल सरकारकोतर्फबाट आधिकारिक पत्र पठाएर सडक निर्माणका विषयमा गम्भीर आपत्ति जनाइएको जानकारी दिनुभयो ।