मंसिर २४, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज काठमाडौँमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् ।
उनले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको समेत बताए ।