• २०८२ बैशाख २९ गते सोमवार

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनबारे यस्तो छ रणनीति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २४, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीति अनुरूप परिमार्जन गर्न लागिएको हो ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गर्नुभयो । ‘निषेधाज्ञा’ केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा बुधबार मात्र निर्णय हुनेछ । उहाँले निषेधाज्ञा परिमार्जन गरिएसँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मङ्गलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो । छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो ।

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मङ्गलबार छलफल गर्नुभयो । दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ ।एक सुरक्षा अधिकारीका अनुसार निषेधाज्ञा परिमार्जन गरिएसँगै उपत्यकामा कोरोना सङ्क्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र सङ्क्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा गम्भीर छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस