• २०८१ मङ्सिर २३ गते आइतवार

नक्कली मुद्रा बनाई कारोबार गर्ने समूहका ४ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट
पुस २४, काठमाडौं । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोगंबुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका-३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका-३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् । पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा पुर्‍याउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा पुर्‍याउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ ।

उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको A4 साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र सिपीयू १ थान प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको बिषेश सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खोटा मुद्रा र अन्य सामान सहित पक्राउ गरी उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस