कार्तिक २३, चितवन। हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । शनिबार दिउसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए । लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए ।