• २०८१ मङ्सिर २४ गते सोमवार

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

असोज २२, काठमाडौं । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।

कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ । खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए ।

काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए । नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको बताए ।

नेपालमा उत्पादन भएका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतबाट अवैध रूपमा आएका खसीबोका भन्दा केही महँगो हुन्छ । भारतबाट अवैध रूपमा आएका खसीबोका सस्तो हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पनि नेपाली व्यवसायी मर्कामा परेका हुन् ।

उनले विभिन्न ठाउँमा खटिएका प्रहरीले नेपाली खसीबोकालाई विभिन्न बाहनामा ठाउँठाउँमा रोकेर दुःख दिने तर भारतबाट अवैध रूपमा ल्याएका खसीबोका स्वतन्त्र रूपमा आउने दिने गरेको बताए । यसैगरी, उनले यसवर्षमा दसैंमा गतवर्षको तुलनामा खसीबोका माग आधा नै घट्ने अनुमान रहेको बताए । विगतका वर्षमा दसैंमा काठमाडौं उपत्यका समयमा दैनिक ३ हजार देखि ५ हजारवटासम्म खसीबोका खपत हुन्थे भने यस वर्ष कोरोनाका कारण दैनिक १ हजार पनि खसीबोका खपत मुस्किल हुने अनुमान गरेको बताए । उनका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ सयदेखि १ हजार खसीबोकाको माग हुन्छ । चाडवर्पमा ३ हजार देखि ५ हजारमासम्म खसीबोकाको माग हुन्छ ।

पशुसेवा विभागका महानिर्देशक डा। वंशी शर्माले नेपालमा खसीबोका उत्पादन पर्याप्त हुँदा कुनै पनि तरिकाले भारतबाट भारतीय खसीबोका नआएको दाबी गरे । उनले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टिन प्रमाणपत्रबिना भन्सारबाट आयात गर्न नपाइने हुँदा यो वर्षमा भारतबाट नेपाली बजारमा नभित्रिएको जिकिर गरे । उनले भारतबाट आयात गर्दा भन्सार शुल्क लाग्ने हुँदा बढीका भारतीय खसीबोका व्यापारीले अहिले आयात नै नगरेको बताए । महानिर्देशक डा। शर्माले गतवर्ष दसैंलाई खसीबोका केही कम हुने देखेपछि १५ हजार खसीबोका आयात भएको त्यसपछि भारतीय खसीबोका आयात नभएको जानकारी गराए । उनले नेपालमा वार्षिक खसीबोका बाख्रा १ करोड २५ लाख उत्पादन हुने बताए । यो समाचार आज राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस