• २०८१ माघ १ गते मङ्गलवार

राेल्पाकाे त्रिवेणी गाउँपालिकामा जेष्ठपछि योजनाको भुक्तानी नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

रोल्पा, २४ साउन । रोल्पाको त्रिवेणी गाउँपालिकाले योजना भुक्तानीका लागि अन्तिम मिति जेठ मसान्त तोकेको छ । गाउँपालिकाले असारको अन्तिम समयमा योजनाको भुक्तानी हुँदा योजना सपन्न गर्न कठिनाई हुने भन्दै जेठ अन्तिमलाई योजना भुक्तानीको अन्तिम समय तोकेको हो ।

गाउँपालिकामा अब असारकाे महिनामा कुनै पनि योजनाको भुक्तानी नहुने भएको हो । गाउँपालिकाले योजना समयमै कार्यान्वयन गर्नका लागि भाद्र १ गतेभित्र उपभोक्ता समिति गठन गर्नुपर्ने, कार्तिक मसान्तसम्म योजनाको सम्झौता गरिसक्नुपर्ने, मंसिरको पहिलो साताबाट योजनाको काम शुरुवात गर्नुपर्ने निर्णय गरेको गाउँपलिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । उहाँका अनुसार चैत मसान्तसम्म योजना जाँच गरिसक्नुपर्ने र जेठ मसान्तभित्र योजना हस्तान्तर गरिसक्नुपर्ने भएको छ । असारमा विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य गर्नका लागि यस्तो निर्णय गरेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

गाउँपालिकाले तीन वर्षमा गरेका कामको समिक्षा पनि गरेको छ । समिक्षा कार्यक्रममा अहिले सम्म गरेका काम र सुधार गर्नुपर्ने कुरालाई आत्मसाथ गरी अब योजना कार्यान्वयनमा लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसीले बताउनुभयो । गाउँपालिकाले तीन वर्षमा गरेका काम डकुमेन्ट्री निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । डकुमेन्ट्री निर्माणका लागि असोज मसान्तभित्र गाउँपालिकाले आवश्यक योजना तयार पारीसक्नुपर्ने निर्णय गरेको अधिकृत केसीले बताउनुभयो । यसैबिच गाउँपालिकाले आवश्यक स्वंयम सेवक शिक्षकका लागि कार्यविधि निर्माण गरिएकाे छ ।

गाउँपालिका भित्रका विद्यालयमा शैक्षिक सिकाईका लागि अंग्रेजी, गणित र विज्ञान शिक्षक राख्न स्वंयसेवक शिक्षक कार्यविधि , प्राविधिक शिक्षा अध्ययन छात्रवृतिका लागि पनि कार्याविधि निर्माण गरेकाे अधिकृत केसीले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले एम्बुलेन्स संचालनका लागि कार्यविधि निर्माण गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस