साउन २४, काठमाडौं । लगानी बोर्डको सीइओ (प्रमुख कार्यकारी अधिकृत) मा सुशील भट्टलाई नियुक्त गरेको विषयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा थप संकट सिर्जना गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको थियो ।भट्टको नियुक्तिको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीमाथि खनिएको स्रोतको दाबी छ ।
“आज साँझ पाँच बजेदेखि छ बजेसम्म वार्ता भयो । वार्ताको सुरुआत एकदमै तनावपूर्ण बन्यो । भट्टलाई सीईओ बनाएको विषय गम्भीर रूपले उठायौं । उहाँले प्रतिवाद गर्नुभएन, केही प्रतिक्रिया पनि दिनुभएन” एक नेताले बाह्रखरीसँग भने, “उप्रान्त यस्तो नियुक्ति गर्दा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतीबिना नगर्नुस् भन्यौं ।”प्रधानमन्त्रीको यस्तै कार्यशैलीले समस्या निम्त्याएको ती सदस्यले जानकारी दिए । भट्को नियुक्तिको विषयमा पार्टी अध्यक्ष प्रचण्डले र वरिष्ठ नेता खनालले गम्भीर आपत्ति प्रकट गरेको र सच्याउन आग्रह गरेको ती नेताको दाबी छ ।यसैगरी आजको बैठक पनि निष्कर्षमा पुग्न नसकेको बालुवाटार बैठकमा साक्षी बसेको एक नेताले जानकारी दिए ।
सुशील भट्टलाई लगानी बोर्डको सीईओ बनाइएको भन्दै बालुवाटारमा चर्काचर्की
त्यसैगरी प्रचण्ड र खनालले आजको छलफलमा स्थायी कमिटीको बैठकको मिति तोक्न माग गरेको पनि स्रोतले जानकारी दियो । “आज पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैले बैठक तोक्न माग गर्नुभएको थियो । बैठकको मिति तय गर्नुपर्यो । तनावको स्थिति राख्नु भएन भनेर भन्नुभयो । देशभरि राम्रो सन्देश गइरहेको छैन । कार्यकर्तामा निराशा छ, चिन्ता प्रकट हुन थालेका छन् भनेर कुरा राख्नुभयो । विषयलाई गम्भीरतापूर्वक लिएर बैठक सुचारु गरौं भनेर आफ्ना विचार अभिव्यक्त गर्नुभयो । प्रधानमन्त्रीले त्यसमा पनि आनाकानी गर्नुभयो,” स्रोत भन्छ ।
प्रधानमन्त्रीले आजको बैठकमा पनि सचिवालयकै रटान लगाएका थिए । “आजको बैठकमा पनि रस्साकस्सी चल्यो । तिक्तापूर्ण छलफल भए । अन्तिममा छलफल जारी राख्ने सहमति गरेर बैठक टुंग्याइयो,” स्रोतले भन्यो । आजको छलफलमा ओली, प्रचण्ड, खनालका अतिरिक्त सुवास नेम्वाङ पनि छलफलमा सहभागी थिए । चारजना नेताबीच तीन दिन लगातार छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सहमतिको विकल्पबारे समेत विषय प्रवेश हुन सकेको छैन । दुवै पक्ष आ–आफ्नो अडानमा टसको-मस नबनेपछि बैठक निष्कर्षविहीन रहँदै आएको छ ।