मंसिर २२, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २१ वर्षीय श्यामकुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन् ।
लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सय दरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा रकम सहित श्यामकुमार बनियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए । प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ ।
रुपन्देही प्रहरीले यसअघि श्रोत नखुलेको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाई गत बिहीबार पक्राउ गरेको थियो । त्यसको पर्सीपल्ट शनिबार बनिया श्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन् । गुप्ता र बनिया दुबैजना भारतको सुनौलीबाट भैरहवातर्फ आउँदै गर्दा एउटै स्थानबाट पक्राउ परेका हुन् ।