• २०८१ असोज २० गते आइतवार

जस्तोसुकै अप्ठ्यारोमा पनि ऊर्जा उपलब्धता सुनिश्चित : ऊर्जामन्त्री पुन

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २२, काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन गर्ने र त्यसको गुणस्तरीय प्रसारण तथा वितरण गरेर जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि ऊर्जा उपलब्धता सुनिश्चित गराउने गरी सरकारले काम गरिरहेको जनाइएको छ । पछिल्लो समय यो क्षेत्रको पूर्वाधार विस्तारमा सन्तोषजनक प्रगति हासिल हुँदै गएको र त्यसको परिणामस्वरूप पेट्रोलियम आयात ठप्प भइहाले पनि ऊर्जा सङ्कट नहुने गरी सरकारको कदम अघि बढिरहेको दाबी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको हो ।

२०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका समयमा डिजेल/पेट्रोलिमको आयात ठप्प हुँदा नेपालीले सास्ती बेहोर्नुपरेको थियो तर मन्त्री पुनले अबका दिनमा पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने बताउनुभएको हो । विद्युत् प्रसारण लाइन निर्माणमा भएको समस्याबारे छलफल गर्न मन्त्रालय पुुगेका धादिङका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेकाले ऊर्जामा आत्मनिर्भर र सुनिश्चित हुने अवस्था आउने बताउनुभएको हो । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, त्यसमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गराउने र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य सरकारको छ । अहिले जडित क्षमता एक हजार तीन सय मेगावाट छ भने यो वर्ष नै त्यो क्षमता दोब्बर हुने अपेक्षा सरकारको छ ।

छलफलमा मन्त्री पुनले भन्नुभयो, “विगतमा जस्तो डिजेल, पेट्रोलियमको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय रहँदैन । वर्तमान सरकार बनेपछि नेपालले भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको छ । ”पूर्वाधार विकास संवेदनशील विषय रहेको भन्दै मन्त्री पुनले सरकारको प्रयासमा स्थानीयवासी तथा जनप्रतिनिधिले पनि बलियो साथ दिनुपर्ने धारणा राख्नुभएको थियो । आयोजना पनि बन्ने, मर्कामा परेकाहरूलाई मुआब्जा, पुनस्र्थापना तथा सेयर स्वामित्व दिने जस्ता मल्हमपट्टी पनि हुनेगरी काम हुन्छ, उहाँले भन्नुभयो, “विद्युत् आयोजना सरकारको उच्च प्राथमिकताको आयोजना हो, यसमा कुनै कारणले अवरोध हुनुहुँदैन ।”

धादिङका सांसद भूमि त्रिपाठीको नेतृत्वमा आएको टोली २२० केभी मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा धादिङको सिद्धलेक गाउँपालिका–७, पीपलटारमा देखिएको समस्याबारे छलफल गर्न मन्त्रालय आएको थियो । त्यहाँका स्थानीयवासीले पूर्वनिर्धारित स्थानबाट केही टावर अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् । छलफलपछि समाधान निकाल्न आइतबारै एक कार्यदल गठन गरिएको छ । ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलमा नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि छन् । बैठकमा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २२० केभी प्रसारण लाइन निर्माणमा एक दिन पनि ढिलाइ हुन नहुनेमा जोड दिनुभयो । उहाँले स्थानीयवासीका समस्याको समाधान गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस