कार्तिक २२, धादिङ । कोभिड १९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पोरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आउँदो मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ ।
गएको चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल्लो समय गति लिइरहको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । नेपालको पहिलो आधुनिक यस सुरुङमार्ग अहिले निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण दुवै भएकाले काम धमाधम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । आयोजना निर्माण ठाउँमा माटो सम्याउने र पहुँच हुने सडक निर्माण पनि सुरुङसँगै अघि बढिरहेको प्रमुख शाक्यले बताउनुभयो । एउटा काम सकेपछि अर्को सुरु गर्दा ढिलाइ हुने भएकाले गर्न सकिनेसम्म काम सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माणस्थलमा अहिले आवश्यक पर्ने ९८ प्रतिशत उपकरण निर्माण कम्पनीले ल्याइसकेको छ । कतिपय निर्माणसामग्री यहीँबाट त कतिपय जापानबाट ल्याइएको छ । निर्माणस्थलमा २० जापानीसहित झण्डै २०० जना कार्यरत छन् ।
जापानबाट अझै झण्डै १५ जना आउन लागेको उहाँले जानकारी दिनुभयो । पहिले कोरोनाका कारण जापानबाट आउनुपर्ने जनशक्ति आउन नसकेकाले ढिलाइ भएको प्रमुख शाक्यले बताउनुभयो । अहिले जनशक्ति आइरहेको र आवश्यक सामग्री जुटिरहेकाले निर्धारित समयभन्दा ढिलो नहुने उहाँले बताउनुभयो । बाँकी अवधिमा नियमित काम गर्न सके अबको साढे दुई वर्षमा आयोजना सम्पन्न हुनेछ ।
आयोजनाअन्तर्गत गर्नुपर्ने सानाठूला काम एकसाथ अघि बढिरहेको छ ।’ निर्माणस्थलमा झण्डै नौ सय टन विस्फोटक पदार्थ आवश्यक पर्नेमा तीन सय टन भारतबाट आउँदैछ । यहाँ अहिले ६० टन मात्रै भण्डारणको क्षमता छ । भण्डारण गर्न सकिने पदार्थ आइरहेको उहाँले बताउनुभयो । गएको वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै गाडी र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।
आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा गाडी सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ(ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ ।