श्रावण २३ , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ ।कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पु¥याउने तयारी गरेको हो । बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए । ‘क्रियाशील सदस्यता वितरण सुरु भएसँगै माग बढ्दो छ, पहिले ५० प्रतिशत बढाउने भन्ने थियो, माग बढेसँगै शत प्रतिशत बढाउने भन्ने विषयमा छलफल भएको छ । थप छलफल आगामी केन्द्रीय समितिमा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।
यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको छ । यसैगरी, आगामी केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने विषयमा समेत नेताहरूबीच छलफल भएको छ । बिहीबार भएको शीर्ष तहको छलफलमै समितिमा रहने नेताहरूको नाम दिन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।वरिष्ठ नेता पौडेलले भने महाधिवेशन तोकिएपछि भएका मनोनयन रद्ध गर्न र महाधिवेशनको मुखमा कुनै पनि विवादित गतिविधि नगर्न देउवालाई आग्रह गरेका छन् । देउवाले विधानमा व्यवस्था भएको भन्दा अर्थात् विधानअनुसार २८ विभाग गठन गर्नुपर्नेमा ४७ विभाग बनाउने गरी केन्द्रीय समितिबाट प्रस्ताव पास गराइसकेका छन् । उनले २० विभागमा आफू निकट नेताहरूलाई जिम्मेवारीसमेत दिइसकेका छन ।
बिहीबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायत सहभागी थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।