वि.सं. २०७७ श्रावण २३ गते शुक्रबार तदनुसार ई. सं. २०२० अगस्ट ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (गुँलागा), भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि १२ः३७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाभाद्रा नक्षत्र, दिउँसो ०१ः२५ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, नेपालमा सूर्योदय : बिहान ०५ः३० बजे र सूर्यास्त : साँझ ०६ः४८ बजे
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।