• २०८० असोज ७ गते आइतवार

मन्त्रीको पहलमा जब पुग्यो दमको छट्पटीमा परेकी बिरामीको घरमै अक्सिजन सिलिन्डर

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
चैत २५, काठमाडौं । अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई सहरी विकास राज्यमन्त्रीको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षिया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजिकरण गरिएको मन्त्री मानन्धरका स्वकिय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए । लकडाउनका कारण समस्यामा परेका बृद्धबृद्धाका लागि आवश्यक औषधि लगायतका प्रवन्ध मिलाउनका लागि सचिवालयले सहजिकरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।
लकडाउन अवधिका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपनको गार्मेन्ट चोककी भण्डारीको छटपटी निकै बढेको थियो । एक सिलिन्डर मेडिकल अक्सिजनको प्रवन्धका लागि उनका आफन्तले विभिन्न प्रयासहरु गरे । विभिन्न स्थानमा फोन घुमाए । तर पनि सिलिन्डर पाउन नसक्दा बीरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो । लकडाउनका कारण बाहिर निस्कन नसक्ने अवस्थाकाबीच ७३ वर्षिया भण्डारीका परिवारले प्रयास भने जारी राखेका थिए ।
भण्डारी परिवारका एक आफन्तले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई समस्या सुनाउन सुझाए । सझाव अनुसार नै भण्डारी परिवारले आफुहरुको समस्या सुनाउने निधो गरे । उनीहरुले मन्त्रीलाई टेलिफोन मार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराए । लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्काश श्रेष्ठलाई अक्सिजन सिलिण्डरको प्रवन्ध मिलाउन आग्रह गरे । मन्त्रीको आग्रह लगत्तै श्रेष्ठ अक्सिजनको जोहो गर्न लागे । लगत्तै श्रेष्ठले सिलिण्डरको प्रवन्ध भएको जानकारी गराए । अर्का एक सहयोगगिलाई साथमा लिएर श्रेष्ठ भण्डारीको घर खोज्दै कपन पुगे । कपनको गार्मेन्ट चोकमा पुगेर श्रेष्ठले निमोनिया र दमकी बिरामी भण्डारीलाई अक्सिजन सिलिन्टर उपलब्ध गराए ।
मन्त्रीको सचिवालयमा फोन गरेको डेढ घण्टापछि अक्सिजन सिलिण्डर आइपुगेपछि भण्डारी भाबुक मात्र बनिनन्, लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणका लागि नेपाल सरकारले गरेको प्रयासको प्रशंसा समेत गरिन् । आफु थला परेको र अक्सिजन नै नपाउने चिन्ताले आफुलाई थप तनाव भएको अवस्थामा सहजिकरण गरिदिएकोमा भण्डारीले मन्त्री मानन्धर र नेपाल सरकारलाई सफलताको आशिर्वाद समेत दिएकी छिन् । उनले अक्सिजन बिना आफु एक मिनेट पनि टिक्न नसक्ने अवस्थामा रहेको बताउँदै मन्त्रीको सचिवालयले गरेको सहयोग जीवनभर नभुल्ने बताइन् ।
मन्त्री मानन्धरले यस अघि पनि विभिन्न समस्यामा परेका बिरामी, अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरुको दैनिकी सहजीकरणका लागि आवश्यक पहल गर्दै आइरहेका छन् । उनले आफ्नो मोबाइल नम्वर नै सार्वजनिक गरेर सर्वसाधारणलाई आवश्यक सहजीकरणको अपिल गरेका थिए ।
मन्त्री मानन्धरले स्थानीय तहमार्फत् राहत वितरणलाई तिब्रता दीइएको बताउँदै जटील समस्यामा परेकाहरुलाई भने सहजीकरण गरिरहेका छन् । मन्त्री मानन्धरले विपद्का बेला जनताले जनप्रतिनिधिसँग ठुलो आशा र अपेक्षा राख्ने भन्दै सरकारले जनताको अभिभावकीय भुमिका निभाइरहेको बताएका छन् । गत साता एक बिरामीलाई बालाजुबाट उद्दार गराइदीएका थिए भने बालुवाटारमा बिरामी बृद्धालाई खाना पकाउने ग्यास लिन सहजीकरण गरिदिएका थिए । यस्तै चन्द्रागिरी नगरपालिकाको नैकापमा आर्थिक समस्याका कारण भोकै बस्न बाध्य एक मजदुरको परिवारलाई आवश्यक प्रवन्ध मिलाईदिएका थिए ।

प्रतिक्रिया दिनुहोस