साउन २२, एजेन्सी। निर्वासनमा रहेको तुर्किस्तान सरकारले विश्वभरका मुस्लिम मुलुकहरुलाई सिन्जियाङमा उइगर र अल्पसंख्यक मुस्लिम समुदायमाथिको चिनियाँ दमनविरुद्धको मौनता तोड्न आग्रह गरेको छ । निर्वासनमा रहेको पूवी तुर्किस्तान सरकारका प्रधानमन्त्री सलिह हुदायरले चिनियाँ कम्युनिस्ट पार्टीले दशकौंदेखि गर्दै आएको दमनविरुद्ध आवाज एकाकार गर्न र उत्पीडनमा परेका सिन्जियाङबासीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले विश्वभरका मुस्लिमलाई चिनियाँ नरसंहारलाई रोक्नसमेत आग्रह गरेका छन् । पूर्वी तुर्किस्तान सरकारकातर्फबाट हामी विश्वभरका मुस्लिम समुदायलाई एक भएर सिन्जियाङमा मुस्लिममाथिको दमनविरुद्ध एक्यबद्धता जनाउन आग्रह गर्दछौं । उनीहरुलाई राजनीतिक, आर्थिक, कूटनीतिक अथवा अन्य कुनै संयन्त्रमार्फत सहयोग गरेर उनीहरुलाई न्याय दिलाउनु आग्रह गर्दछौं, हुदायरले भिडियो सन्देशमा भनेका छन् । विश्वमा आफ्नै दाजुभाइमाथि भइरहेको नरसंहार रोक्न आफ्नो मौनता तोड्ने आग्रह दोहोर्याएका छन् । करिब ३० लाख पूर्वी तुर्किस्तानका जनताहरु अहिले चिनियाँ हिरासतमा छन् । मस्जिद र अन्य धार्मिक स्थलहरु भत्काइएका छन् ।
पाँच लाख पूर्वी तुर्किस्तानका बालबालिकालाई उनीहरुका अभिभावकबाट अलग गरिएका छन् । उनले थपे, ूपूर्वी तुर्कीस्तानसमेत भनिने सिन्जियाङका महिलाहरुलाई बाँझोपनको औषधी दिइएको छ । मुस्लिमहरुलाई मदिरा र सुँगुरको मासु खान बाध्य पारिएको छ । सन् २००९ देखि चिनियाँ कम्युनिस्ट पार्टीले लाखौं सिन्जियाङबासीहरुलाई हिरासतमा राखेको छ ।