साउन २२, काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाएर एलएएसकेमाथि २–१ को जीत हात पार्दै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई लेगको खेलमा समग्रमा युनाइटेड ७–१ को विशाल अन्तरले विजयी बनेको हो । पहिलो लेगमा युनाइटेड ५–० ले विजयी बनेको थियो ।
खेलमा अस्ट्रियन टोलीले कप्तान फिलिप वेसिङगरको गोलको मद्दतले अप्रत्यासित अग्रता लिएको थियो । तर लगत्तै जेसे लिन्डगार्डले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । लिन्डगार्डले लगातार दुई खेलमा गोल गरेको सन् २०१८ को डिसेम्बरपछि पहिलो पटक हो । खेलको अन्त्यमा हुवान माटाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।