असार २२, काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ । कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ता र सम्भावित सत्ता साझेदारीको विषयले बढी चर्चा पाएको छ । बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्रीसँगको भेटको कारण र सत्ता साझेदारीको विषय के हो भनी सभापति देउवालाई प्रश्न गरेका थिए ।
देउवालाई पौडेलको प्रश्न : प्रधानमन्त्रीसँगको भेट, भेटको कारण र सत्ता साझेदारीको विषय के हो ?
देउवाको जवाफ : प्रधानमन्त्री र सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी र नागरिकता विधेयकबारे छलफल भएको हो, सत्ता साझेदारीमा होइन ।
बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र नेता सुवास नेम्वाङलाई पठाएर गरिएको भेटबारे जिज्ञासा राखेको र संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई सचेत गराएको जानकारी दिए ।
‘बैठकमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र दूत पठाएर गरिएको भेटबारे जिज्ञासा राख्नुभयो । संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई वरिष्ठ नेताले सचेत गराउनुभएको छ,’ नेता जोशीले राजधानीसँग भने ।
नेता पौडेलको प्रश्नमा सभापति देउवाले भने प्रधानमन्त्री ओली र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी, नागरिकता विधेयकबारे छलफल भएको जवाफ दिएका छन । उनले भेटमा सत्ता साझेदारीबारे कुराकानी नभएको समेत जवाफ दिएका छन् ।
‘प्रधानमन्त्री र सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी, नागरिकता विधेयकबारे छलफल भएको हो, सत्ता साझेदारीमा होइन,’ उनले भने । बैठकमा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप प्रस्ट पारेका थिए । उनीसमेत सो भेटमा सहभागी थिए ।
बैठकमा बोल्ने केही नेताले सत्तारूढ नेकपाको विवादमा कांग्रेस जोडिन खोजेको र सत्ताको मोह देखाएको भन्दै आक्रोशसमेत पोखेका छन् । ‘सत्तारूढ नेकपाको विवादमा कांग्रेस जोडिन किन खोजेको रु कांग्रेसलाई जनताले जे म्यान्डेड दिएका छन्, त्यही गरौं, सत्तामा उक्लिने म्यान्डेड कांग्रेसलाई छैन,’ बैठकमा राखेको धारणा सुनाउँदै एक नेताले भने । कांग्रेस नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको आन्तरिक कलहमा कांग्रेस सामेल नहुने बताए ।
‘सत्तारूढ दलभित्र जे हुँदै छ, यो उनीहरुको आन्तरिक कलह हो । कम्युनिस्टको यो कलहमा कांग्रेस सामेल हुन चाहँदैन । मुलुकमा अस्थिरताको स्थिति कांग्रेस चाहँदैन । सत्ता साझेदारीमा कांग्रेस सामेल हुँदैन, यो हल्ला हो,’ नेता केसीले भने ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारूढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए ।
‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने र प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो, हामी यो विषयसँग निरपेक्ष छौं तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कार र जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौं,’ प्रवक्ता शर्माले भने । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।