फागुन २३, दैलेख । प्राकृतिक प्रकोप तथा अन्य आपद् विपद् तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि दैलेखको दुइवटा स्थानिय तहहरुमा हेलिप्याड निर्माण थालिएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका र भगवतिमाई गाउँपालिकामा ‘हेलिप्याड’ बन्ने भएको हो ।
सडक सञ्जालसँग जोडिएपनि पिच नहुदा विरामीहरुलाई गाउँपालिकाबाहिर लिन निकै अप्ठयारो हुने र अब (हेलिप्याड) निर्माण भएपछि ग्रामीण क्षेत्रमा हुने विभिन्न खाले आपत्कालीन अवस्थामा उद्धार तथा अन्य सामाजिक कार्यका लागि निकै सहज हुने भएको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुवै गाउँपालिकालाई हेलिप्याड निर्माण गर्न ८/८ लाख रुपैयाँ बजेट पठाएको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहिले जानकारी दिए ।
जिल्लाकै दुर्गम मानिएको ठाटीकाँध सदरमुकामदेखि करीब २२ कोष पश्चिममा पर्छ ठाटिकाँध । गाउँपालिकाको केन्द्रसमेत रहेको ठाटीकाँध डाँडामा ‘हेलिप्याड’ निर्माणको काम केही दिन अघिदेखि शुरू भएको गाउँपालिका अध्यक्ष शाहिले जानकारी दिए । प्रदेश सरकारको रू. ८ लाख लागत हेलिप्याड निर्माण भइरहेको उनले बताए । यहाँ ‘हेलिप्याड’ निर्माण भए गाउँ–ठाउँमा हुने विभिन्न प्राकृतिक प्रकोप तथा अन्य जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्न सकिने शाहिले बताए ।
‘कच्चीसडक पुगे पनि आवश्यक परेको बेला यातायातका साधन नपाइने हुँदा कैयौं मानिसहरुले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हेलिप्याड निर्माण भएपछि तत्कालै उद्धार गर्न सकिने भएकाले अकालमै कसैले ज्यान गुमाउनुपर्ने छैन ।’ त्यस्तै भगवतिमाइ गाउँपालिकामा (हेलिप्याड) निमार्ण गर्न जग्गाको टुंगो लागि नसकेको र जग्गाको टुंगो भइसकेपछि चाडै तयार हुने भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।