फागुन २३, भोजपुर । भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस गरिरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रु. ५,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानको सिलसिलामा आमचोक गाउँपालिकाको कार्यालय भोजपुरमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले सेवाग्राहीसँग हायु खोला खानेपानी मुहान संरक्षण योजनाको प्राविधिक मुल्याङ्कन गरी बिल फरफारकको लागि योजना पास गरिदिने प्रयोजनको लागि घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा उनलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।