• २०८१ माघ ८ गते मङ्गलवार

काठमाडौंका सडक धमाधम कालोपत्रे हुँदै, मन्त्री मानन्धर आफैं फिल्डमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २३, काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकहरुमा कालोपत्रेको कामले तिब्रता पाएको छ । लामो समयदेखि कालोपत्रे हुन नसकेका र बिग्रीएका सडकको मर्मत र कालोपत्रे गर्ने कामलाई सरकारले तिब्रता दिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरु कालोपत्रे गर्न थालिएको छ ।

शनिबार सोह्रखुट्टे लींकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ । लामो समयसम्म हिलो र धुलोसहित कच्ची सडकमा सवारी गर्न बाध्य भएका सर्वसाधारण सडक कालोपत्रे हुने भएपछि उत्साहित छन् । मन्त्री मानन्धरको पहलमा विष्णुमति करिडोरको लिंकरोड पनि कालोपत्रे हुँदै छ ।

बालाजु बाईपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे शुरु हुने भएको छ । लामो समयदेखि खाल्डा-खुल्डी र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका बालाजुदेखि उत्तरीभेगका सर्वसाधारणले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् । यस्तै उक्त सडक कालोपत्रे भएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुने भएको छ । यसअघी दगुर्नेपानीमा माटो कटान र सडक फराकिलो पार्ने काम थालनी भइसकेको छ भने लामो समयदेखि विवादमा रहेको मुअब्जाको समस्या पनि लगभग समाधान भएको छ ।

मन्त्री मानन्धरको पहलमा यस अघी बालाजुको माछापोखरीदेखि बाईपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टे देखि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिन भित्र उपत्यकाका भित्री सडकहरु सफा हुने बताउनुभयो । मन्त्री मानन्धरले सडक कालोपत्रे भएसँगै नियमित सफा गर्ने र सडकमा धुलो आउन नदिनेगरी संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो । महानगरसँगको सम्वन्वयमा ब्रुमर लगाएर धुलो उठाउने र पार्किङ व्यवस्थापनका लागि पनि काम थालिने मानन्धरले जानकारी दिनुभयो ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरिय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गर्नुभएको छ । छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउनेबारे पहल भएको छ । बालाजु माछापोखरी लगायतका स्थानमा देखिएको अब्यवस्थीत पार्किङ व्यवस्थापन थालिने छ ।

प्रतिक्रिया दिनुहोस