आफ्नो कार्यकाल करिब १ वर्ष ३ महिना बाँकी रहँदै जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थको कारण देखाइ पदबाट दिएको राजीनामाको खबरले विश्व संचार जगतमा तरङ्ग पैदा गरिदिएको छ। जापान जस्तो बिकशित मुलुकको कदमको असर नेपाली आम नागरिकमा पनि देखिएको छ।
नेपालमा सामाजिक संजालका भित्ताहरु पनि “नेपालले यस बाट कहिले सिक्ने” जस्तै अभिप्रायबाट छाइएका छन्। यसै सन्दर्भमा विश्वका
राष्ट्रप्रमुखको कति उमेर सम्म राज गर्छन् भनेर जान्ने प्रयास गरिएको छ। फ्रान्सका राष्ट्रपति इमानुयल मेक्रोन हाल ४२ वर्षका छन् र साशन सत्ता सम्हादा ऊनी जम्मा ३९ वर्षका थिए। करिब ५ खर्ब अमेरिकिडलरको कुल ग्राहस्थ उत्पादन जिडिपि रहेको अस्ट्रियाका चान्सलर सेबेस्तिन कुर्ज ३१ वर्षको उमेर देखी सन् २०१७ बाट आफ्नो शासन सम्हालिरहेका छन्। यसैगरी फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन मात्र ३४ वर्षकी छन्।
यसरी हेर्दा बिकशित मुलुकको बागडोर युवाको हातमा रहेपनि त्यो पूर्ण सत्य चाही होइन। जस्तो की फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकले करिब ७५ वर्षको उमेर सम्म तथा निकोलस सार्कोजी र फ्रान्कोइस होलन्दीले समान ६० वर्षको उमेरसम्म राष्ट्रपति रहेर काम गरे। यस्तै सेबेस्तिन कुर्ज भन्दा पहिला अस्ट्रियाका चान्सलर रहेका डा. बिग्रेटि बिइरालेल आफ्नो शाशन सत्ता छोड्दा ७० वर्षका थिए। छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सि जिन्पिङ ६५ वर्षका भए। त्यहाँको ‘नेसनल्स पिपल्स कङ्रेस’ ले नेतृत्वका लागी आगामी थप अबधिहरु उनका लागि सहज बनाइदिएको छ। अर्को छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल ६९ वर्षका छन् भने युवा नेता राहुल गान्धी ५० वर्षका भइसके। त्यस्तै, भारतमै प्रधानमन्त्री पदबाट अवकाश पाउंदा पि. भि.नरशिंहा राव ७५ वर्षका र अटल बिहारी बाजपेयी ८० वर्षका थिए । श्रीलंकाकी श्रीमाओ बन्दरानाके ४४ वर्षकै उमेरमा सन् १९६० मा त्यहाँको राष्ट्रपति बनेर सबै भन्दा कम उमेरको महिला राष्ट्रपति बनिन्। तर पटक पटक राष्ट्रपति बनेकी उनी सन् २००० मा राष्ट्रपति रहंंदा ८५ वर्षको थिइन्। अमेरिकाको कुरा गर्दा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टन चुनावी मैदानमा भिड्दा क्रमशः ७० र ६९ वर्षका थिए। रोनाल्ड रेगनले ७८ वर्षको उमेरमा सन् १९८९ मा राष्ट्रपति पदबाट अवकाश पाएका थिए। यद्यपि, बिल क्लिन्टन र बाराक ओबामा राष्ट्रपति चयन हुँदा क्रमशः ४६ र ४७ वर्षका थिए। सबै भन्दा वृद्ध अवस्था सम्म शासन गर्ने रेकर्ड टिउनिशियाका स्वः राष्ट्रपति मोहम्मद बेज इसेबीको नाममा छ। सन् २०१९ जुलाईमा उनी राष्ट्रपति रहंदा ९४ वर्षका थिए। यसैगरी अर्थबिद् भनेर चिनिने मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद ९३ वर्षका छन् भने जिम्बावेमा रोबर्ट मुगावेले ९२ वर्षको उमेर सम्म शासन सत्ता सम्हालेका थिए। क्युबाको सबैभन्दा शक्तिशाली पद त्यहांको कम्युनिस्ट पार्टीको प्रथम सचिवमा ८९ वर्षोय राहुल कास्त्रो कार्यरत छन् भने सो भन्दा अघि सोही पदमा उनकै दाजु फिद्देल कास्त्रो ८५ वर्षको उमेर सम्म पदमा रहेका थिए। राष्ट्रप्रमुखको उमेर बेलायतमा भने एकरुपता र युवामुखी देखिन्छ। हालका प्रधानमन्त्री बोरिस जोन्सोन ५६ वर्षका भए भने पुर्वप्रधानमन्त्रीहरु जोन मेजर –४७ वर्ष, टोनी ब्लेअर –४४ वर्ष तथा डेभिड क्यामरुन –४३ वर्षमा पदभार ग्रहण गरेका थिए।
हाल बहसको विषय भनेको नेपाली राजनीतिक नेतृत्वमा उमेरको के कस्तो भुमिका रहन्छ युवालाई नेतृत्व हस्तान्तरण गर्न आवश्यकता र संभावना कत्तिको छ भन्ने हो। सन् २०१८, मे १० मा एडेम टेलरले वाशिंनटन पोस्टमा बताए अनुसार प्रधानमन्त्री पदका लागी प्रस्तिस्पर्धा गर्ने क्रममा महाथिर मोहम्मदले मलेसियाली दैनिक स्टेृट टाइम्सलाई दिएको अन्तरबार्तामा “तपाईं नेतृत्व गर्नका लागी वृद्ध हुनु भएन र ?” भन्ने प्रश्नको उत्तरमा भनेका थिए, “उमेर दुइ तरिकाले गणना हुन्छ। एक बर्षका आधारमा र अर्को शरीरको आधारमा। अनि, वर्षको उमेर र शरीरको उमेर नमिल्न पनि सक्छ।” उनको भनाइको तात्पर्य आफु उमेरले बुढो भएपनि नेतृत्व गर्न सक्ने अवस्थाको रहेको भन्ने थियो।
नेपालको प्रधानमन्त्रीको लाइनमा लागेका नेताहरुको उमेर एकै प्रकारको छ। बहालवाला प्रधानमन्त्री के पी ओली –६८ वर्ष, पुष्प कमल दाहाल प्रचण्ड –६५ वर्ष, माधब कुमार नेपाल –६७ वर्ष, झलनाथ खनाल –७० वर्ष, बामदेव गौतम –७२ वर्ष, बाबुराम भट्टराई –६६ वर्ष, उपेन्द्र यादव –५९ वर्ष, शशांक कोइराला –६१ वर्ष, शेर बहादुर देउवा –७४ वर्ष तथा राम चन्द्र पौडेल ७५ वर्ष का छन्। दोश्रो बरियताका नेताहरुको उमेर ६ दशकको आशपाशमा छ।जस्तै बिष्णु पौडेल –६० वर्ष, इश्वर पोख्रेल –६६ वर्ष, शंकर पोख्रेल –५६ वर्ष, घनश्याम भुसाल –५८ वर्ष, लिला गिरी –६७ वर्ष, सुरेन्द्र पाण्डे –६२ वर्ष, प्रदिप ज्ञवाली –५७ वर्ष, राम शरण महत –६९ वर्ष, बालकृष्ण खाँड –६० वर्ष, चन्द्र भण्डारी –५९ वर्ष, मिनेन्द्र रिजाल –६२ वर्ष, भिम रावल –६४ वर्ष, राम बहादुर थापा –६५ वर्ष, जनार्दन शर्मा –५७ वर्ष, खिमलाल भट्टराई –५० वर्ष र अन्य नेताहरुको पनि उमेर उस्तै छ।
युवा नेता गोकर्ण बिष्ट –५५ वर्ष, योगेश भट्टराई –५५ वर्ष, टोप बहादुर रायमाझी –५९ वर्ष, शक्ति बस्नेत –५० वर्ष का छन् भने महेश बस्नेत
४२ वर्षका भए। यस्तै बिष्णु हरि पाण्डे, सुशील खनाल, नबिना लामा, रन्जित तामाङ, ऐन महर, प्रदिप पौडेल, कुन्दन काफ्लेहरु ४० को
आशपाशमा छन्। यस्तै आदिवासी (जनजाती, तराई तथा मधेस मुलका नेताहरुले पनि ६ दशक पार गरिसके। जस्तैः सुभाष नेम्वाङ –६७ वर्ष, पृथ्वीसुब्बा गुरुङ –६२ वर्ष, मातृका यादव –६२ वर्ष , बिमलेन्द्र निधी –६३ वर्ष तथा महन्त ठाकुर ६८ वर्षका भए। यस्तै महिला नेतृहरुमा डिला सङ्रौला –५५ वर्ष, पम्फा भुसाल –५७ वर्ष, पुश्पा भुसाल –५८ वर्ष ,रेनु यादव –५७ वर्ष तथा ओनशरी घर्ती ४२ वर्षकी भइन्। डा. बाबुराम भट्टराईले तत्कालीन नेकपा – माओवादी मा रहंदा एक पत्रिकामार्फत दिएको अन्तरबार्तामा आशातित दुई युवा नेताको नाममा परेका बर्षामान पुन ५० वर्षका भए भने गगन थापा ४४ वर्षका छन्। यस्तै कमल थापा ६५ वर्षका छन् भने रबिन्द्र मिश्र ५३ वर्ष पुगे।
हिन्दी कथानक चलचित्र “नायक” बाट प्रेरित नेपाली समाजले कहिले बाबुराम भट्टराई त कहिले गगन थापा अनि रबि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश खरेल जस्ता नेतृत्व चाहिन्छ भन्ने आशा गरिरहेको देखिन्छ। तर, बाहिर बोल्नु र गर्नु मा रहेको फरक रबिन्द्र मिश्रको उदाहरणबाट स्पस्ट रुपमा देख्न सकिन्छ।
यसरी तत्काल युवामा नेतृत्व हस्तान्तरण हुने देखिदैन। जस्तै गगन थापाको सबालमा १ वर्ष भित्र नेपाली काङ्ग्रेसको महाधिवेशन भयो र उनका लागि सबै वातावरण अनुकुल रहेपनि उनी सभापति हुन सक्ने स्थिति देखिदैन। र अर्को पटक ९३ वर्ष पछी हुने० आम निर्वाचनमा उनी प्रधानमन्त्री पदको बलियो दाबेदार हुन सक्दैनन्। यस अर्थमा प्रधानमन्त्री पद उनका लागी कम्तीमा पनि ८ देखी १३ वर्ष टाढा छ जुन समय उनी ५७ वर्षका हुनेछन्। यस्तै अवस्था बालकृष्ण खाँड, बिश्व प्रकाश शर्मा, राम हरि खतिवडा, जनार्दन शर्मा, महेश बस्नेत, भिम रावल तथा गोकर्ण बिष्ट जस्ता नेताहरुको छ। विकसित मुलुकहरूमा पद्धति बसिसकेको हुन्छ तर नेपाल जस्तो अविकसित मुलुकमा राजनैतिक खेल भने खेलाडीमा भर पर्ने गर्दछ र त्यो अनुभव अनि राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध र दृष्टिकोणले निर्धारण गर्ने गर्दछ।
असल नेतृत्वमा हुनुपर्ने गुणहरु भनेका बलियो ईछ्याशक्ती, आत्माविश्वश, अभिप्रेरित गर्न सक्ने क्षमता, जिम्मेवारी र उत्तरदायित्वको भावना, प्रभाकारी संचार सीप, इमान्दार सोच र चरीत्र र त्यागको भावना हुन् । संस्थागत क्षेत्रमा शारीरिक अवस्था सबल हुनु पर्ने कुरालाई समेतनेतृत्वका गुणका रुपमा चित्रण गरिन थालिएको छ।
नेपाली परिवेशमा जति नै कुरा गरे पनि र सुन्दा मिठो नलागेपनि पुस्ता हस्तान्तरणको कुरो विविध कारणले गर्दा कठिन नै छ। करिब १० बर्ष सम्मका लागी त्यो असम्भव जस्तै नै छ। वृद्ध भए पनि युवा जोशका साथ वर्तमान र आगामी नेतृत्व लाग्ने छ भन्ने आशा गरौं।