श्रावण २१, काठमाडौँ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने भएको छ ।
परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु। २०० कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपुर्व परीक्षा दिइसक्नु पर्दछ ।