बैशाख २३, कर्णाली । सुर्खेत कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ः०० बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो ।
भारतसहित तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण अवस्था र विवरण सम्बन्धित पालिकाले अद्यावधिक गरी प्रदेश सरकारलाई रिपोर्टिङ गर्ने र त्यस्ता व्यक्तिहरुको पिसिआर परीक्षणको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । “बैठकमा प्रदेशभित्रका महत्वपूर्ण र जिल्लाको भौगोलिक दृष्टिकोणले बढी जनसङ्ख्यालाई सेवा पुग्ने केन्द्रहरुमा सामाजिक विकास मन्त्रालयले कार्ययोजना तयार गरी स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पु¥याउन नसक्ने अवस्थामा हेलिकोप्टरको प्रयोग गरिनेछ ।”