चैत २३, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज राज्यमन्त्री मानन्धरले स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई ३०० थान पीपीई सेट हस्तान्तरण गर्नुभएको हो । नेपाल भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आव्हान समेत गर्नुभयो । राज्यमन्त्री मानन्धरले कोरोना विरूद्ध सरकारले चालेका कदममा साथ र सहयोग सहित सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
पीपीई ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाललाई कोरोनाको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उक्त पीपीईको गुणस्तर हेरी उपचारमा संलग्न चिकित्सकलाई प्रदान गरिने बताउनु भयो । मन्त्री ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ । मन्त्री ढकालले रोगबाट जोगिन सकियो र नेपाली जनतालाइ पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने भन्दै अहिले हिलो छ्याप्ने काम बन्द गर्न अनुरोध गर्नुभयो ।
संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेको बताउनुभयो ।