फागुन २२, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकामा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न भईसक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको परिपत्र अनुसार नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिकाको बोर्ड बैठकले सम्पूर्ण परीक्षा ५ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
उप–महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहिवार बसेको परीक्षा समितिको बैठकले कक्षा ८ को परीक्षा समेत ५ गतेभित्र गरिसक्ने निर्णय गरेको छ । नेपालगञ्जमा ६५ वटा आधारभुत तहका विद्यालय रहेका छन् । यसअघि कक्षा ८ को परीक्षा चैत ४ देखि सुरु गर्ने पुर्व निर्धारित कार्यतालिका थियो । यसैबीच परीक्षा सञ्चालन लगायतका विषयमा प्याव्सनको टोलीले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा लगायतसँग छलफल गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वभर कोरोना (कोभिड–१९) को संक्रमण र सन्त्राष बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन भन्दै कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा यथाशिघ्र सञ्चालन गरि चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने ब्यवस्था मिलाउन र विद्यालयमा जनभेला हुनेखालका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम नगर्न नगराउन आग्रह गरेको थियो ।