• २०८१ जेष्ठ ३१ गते बिहिवार

अब साढे दुई वर्ष सरकारको नेतृत्व गर्छु, त्यसपछि बालकोट फर्कन्छु : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २० भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकाप का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल पछि दिउँसो बालकोटस्थित निजी निवासमा आउनु भएको हो ।

पत्नी राधिका शाक्यसहित बालकोट पुग्नु भएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको संग्रहालयको अवलोकन गर्नुभयो । आफ्नो शेखापछि उक्त घरमा ट्रष्ट बनाउने घोषणा गरिसक्नु भएका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएको विषय, तस्विर, पुस्तक, महत्वपूर्ण दस्तावेजहरुलाई पत्नी राधिका शाक्यले संहग्र गरी संग्रहालयको रुपमा गरेको व्यवस्थापनको उहाँले अवलोकन गर्नुभएको पूर्वमन्त्री एवं भक्तपुरका सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाई वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताउनुभएको छ । नेकपाका नेता एवं पूर्वसञ्चार मन्त्री गोकूल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाई वर्ष पछि फर्कन्छु भनेर जवाफ दिदै बाँकी साढे दुई वर्ष आफैले सरकारको नेतृत्व गर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र पूर्वमन्त्री बस्नेतसँग राजनीतिक छलफल समेत गर्नुभएको थियो । जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं संघीय सांसद बस्नेतले जानकारी दिनुभयो । मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनु भएको उहाँको भनाई थियो ।

प्रधानमन्त्रीले बालुवाटारमा आज प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियौ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तिते करेला खुवाएर कुरा गर्नुपर्छ भन्नु भएको सांसद बस्नेतले जानकारी दिनुभयो ।

बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापा, नेपाली सेना बीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिवप्रसाद पौडेल, शसस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुख लगायतको टोलीसँग भक्तपुरको शान्ति सुरक्षाकाबारेमा जिज्ञासा राख्नु भएको थियो ।

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणकोबारेमा चासो राख्नु भएको थियो भने कोरोना भाइरस सङ्क्रमण रोक्न, शान्ति सुरक्षा मजबुद बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको बताउनु भएको थियो ।

प्रधानमन्त्री भएपछि तेस्रो पटक बालकोटस्थित निजी निवास पुग्नु भएका उहाँ यसअघि माघ १६ मा बसन्त पञ्चमीको दिन निजी निवास पुग्नु भएको थियो । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उहाँ आज पहिलो पटक निजी निवास बालकोट पुग्नु भएको हो । प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण समेत गरेर करिब एकघण्टा पछि बालकोटबाट बालुवाटार फर्कनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस