• २०८१ असोज २६ गते शनिवार

कोरोना भाईरस विरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २०, नेपालगञ्ज । बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । चीनमा कोरोना भाईरस गम्भिर समस्याका रुपमा देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल–भारत सीमास्थित जमुनाह नाकामा सञ्चालनमा ल्याएको हेल्प डेस्कलाई पछिल्लो समय थप प्रभावकारी बनाईएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले जमुनाह नाकामा कोरोना भाईरसको चेकजाँचका लागि हेल्प डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । विहान ७ वजेदेखि राती ७ बजेसम्म २÷२ जना स्वास्थ्यकर्मी हेल्पडेस्कमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । चन्दले मंगलबार पटक–पटक हेल्प डेस्कमा पुगेर सेवा प्रवाह प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

हेल्प डेस्कमा शङ्काष्पद विरामी फेला परेमा भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । योसँगै नेपालगञ्जमा जनचेतनामुलक अभियान पनि सञ्चालन गरिरहेको छ । इन्फाईड थर्मोमिटरको माध्यमबाट विारमीको तापक्रम मापन गर्ने गरिएको छ । खुल्ला सीमाका कारण दैनिक हजारौंको ओहोरदोहोर हुने भएपनि शङ्काष्पद विरामीलाई हेल्पडेस्कमा प्रारम्भिक जाँच गर्ने गरिएको छ ।

हालसम्म जमुनाह नाकामा रहेको हेल्प डेस्कमा एकजना पनि शङ्काष्पद विरामी फेला परेका छैनन । पछिल्लो समय सुरक्षा निकायले समेत हेल्प डेस्कका लागि समन्वय गरिरहेका छन् । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले कोरोना भाईरसको जोखिमबाट आम नागरिकलाई जोगाउनका लागि जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस