कार्तिक १७, सिरहा । बोक्सीको आरोपमा सिराहा कर्जन्हा नगरपालिका ३ खैराहा टोलमा आफ्नै छोराले आमाको हत्या गरेका छन । ८५ वर्षीया सुदामादेवी साहको उनकै कान्छो छोरो रामअवतारले हत्या गरेका हुन ।
श्रीमतीको खुट्टामा घाउ भएपछि झारफुक गर्न आमालाई बोलाउदा आमाले मलाई बोक्सी भन्नेको घरमा आउदिन भनेपछि ‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै रिसाएका रामअवतारले घाँटी थिचेर कुटपिट गर्दा ती वृद्धा गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल सिरहामा उनको मृत्यु भएको हो ।
स्थानीयले घाइतेलाई जनकपुरस्थित जानकी मेडिकल अस्पताल पु¥याए पनि उपचार खर्च अभावका कारण घाइतेलाई फर्काएर जिल्ला अस्पताल सिरहामा ल्याइयो। उपचारकै क्रममा शनिबार सुदामादेवीको मृत्यु भएको हो । उनको जेठो छोरो रामबहादुरले आइतबार आमाको दाहसंस्कार गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्त रामअवतारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र उनि विरुद्ध कर्तव्य ज्यान र बोक्सीको आरोपसम्बन्धी मुद्दा चलाइएको छ।
विगतमा सुदामालाई कान्छो छोरोले मलमूत्र खुवाउने प्रयास गरेको, पटक–पटक कुटपिट गरेको स्थानीयको भनाइ छ। पतिको निधनपछि १५ वर्षदेखि उनि एक्लै बस्दै आएकी थिइन । सुदामादेवीले वर्षौंदेखि गाउँमा झारफुकको काम गर्दै गाउँमा बनिबुतो गरी गुजारा चलाउँदै थिइन।