श्रावण १८ ,काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरूको छलफल सकिएको छ । साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिनपछि छलफल भएको हो ।
छलफल झण्डै तीन घण्टा चलेको थियो । स्रोतका अनुसार आजको छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीले महाधिवेशनको मिति तोकिसकेको कारण महाधिवेशनतिरै केन्द्रित भएर समस्याको निकास दिनुपर्ने बताए । गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० मा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । नेकपाभित्र विवाद बढदै जाँदा अध्यक्ष ओली र प्रचण्डबीच आगामी मंसिरमै एकता महाधिवेशन गर्ने सहमति पनि भएको थियो । सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सचिवालयले सर्वसम्मत निर्णय गरेपनि त्यसबाट अध्यक्ष (प्रचण्ड) पछि हटेपछि दुई अध्यक्ष आमने सामने देखिएको हो ।
आजको छलफलमा केन्द्रीय कमिटीले मिति तोकिसकेको र सचिवालयमा समेत सर्वसम्मत महाधिवेशनमा जाने निर्णय भएकोले सोही आधारमा दुवै अध्यक्षको तर्फबाट सचिवालय बैठकमा प्रस्ताव लैजाने र सचिवालयबाट निर्णय गराई स्थायी कमिटीमा अनुमोदन गर्नुपर्ने धारणा अध्यक्ष ओलीले राखेका छन । अर्का अध्यक्ष प्रचण्डले पनि महाधिवेशनबाट आफू भाग्न नखोजेको भन्दै थप छलफल गरी ठोस धारणा बनाउनु पर्ने जानकारी स्रोतले दिएको छ । आजबाट अध्यक्षद्वयबीच पुनः छलफल अघि बढेको भन्दै निकास आउने संकेत बार्तामा साँक्षी रहेका दुवै नेताले गरेका छन । दुवै नेताले आफू निकटसँग आजको छलफल सकारात्मक रहेको र अर्को छलफलमा निश्कर्ष आउन सक्ने संकेत दिएका छन ।आजको बैठकमा साक्षी फेरिएका थिए । ओली र प्रचण्डका अतिरिक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।