बैशाख २०, सिराहा । २ नं. प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि.धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सिरहाको निरीक्षण गर्नुभएकाे छ । समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

व्यवस्थापनमा देखिएको चुनौतिहरुको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउँदै सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीहरुले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने चर्चा गर्दै संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्न निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै यस कार्यक्रम मार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।
साथै संगठनको लक्ष्य पुरा गर्न मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सवै प्रहरी कर्मचारीहरुले आ-आफ्नो जिम्मेवारी त्रुटि रहित तवरले सम्पन्न गर्नेमा प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ अधिकृतहरु, उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।