पुस १७, दाङ । धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए।
उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो। नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सिबिल प्रहरी टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो। दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ परेका दमाईमाथि थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएको छन।