भाद्र १६ ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी कोरोना महामारीका दुष्प्रभाव छिचोलेर सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न अग्रसर रहेको बताउनुभएको छ ।
उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना सन्देश भन्नुभएको छ, ‘अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्वहरु हाम्रा साँस्कृतिक पूँजी हुन् । सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु छन् । ती सबै पर्वहरु हामीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी हुन् । विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका छन् ।’
सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएको उल्लेख गर्नुभएको छ ।
यतिबेला हामी मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वब्यापी महामारी कोभिड– १९ सामना गरिरहेको उल्लेख गर्दै उहाँले महामारीबाट सुरक्षित हुँदै राष्ट्रको यस आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन उहाँले अनुरोध समेत गर्नभयो ।
उहाँले भन्नुभएको छ, ‘यसले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ । समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ । यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न हामी अग्रसर छौं ।’
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आरधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।